कम्पनीले ४ करोड उठाउन बाँकी रहेकाले स्काउटलाई ३ करोड तिर्न बाँकी भयो: ऊर्जा मन्त्री (भिडियो)



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्टको विवाद कानूनी हिसाबले आफूसँग नजोडिएको तर्क गरेका छन् ।

नेपाल स्काउट र मन्त्री खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेण्ट बीचको विवाद यति बेला उत्कर्षमा छ । मन्त्री खड्काको कम्पनीले नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा र दुईवटा भवन भाडामा लिएर लामो समयदेखि व्यापार गर्दै आएको थियो ।

तर मन्त्री खड्काको कम्पनीले भाडा बापत पैसा उठ्न नसक्दा स्काउटलाई पैसा तिर्न नसकेको मन्त्री खड्काले बताए । उनले पछिल्लो समय नियोजित रुपमा आफू संग्लन नभएको कम्पनीको कारोबारमा आफ्नो नाम जोडेर समाचारहरु आइरहेको बताए।

स्काउटसँग जोडर आएका समाचार नियोजित भएको बताए ।

आफूले मन्त्री भएर गरेका राम्रो काम देख्न नचाहनेहरुले राजनीतिक चरित्र हत्या गर्ने र मन्त्रीबाट हटाउने योजनाका साथ समाचारहरु आएको बताए । उनले स्काउट ऋणमा पुगेपछि टेण्डर प्रक्रियाबाट जग्गा र भवन प्रतिस्क्वयर फिट ४७ रुपैयाँमा महिनाको २५ लाख भाडा तिर्नेगरी लिएको बताए। आफू कम्पनीमा हुँदा समेत भाडाको समस्या नभएको तर कोभिडको समयमा सटर बन्द हुँदा भाडा उठाउन नसक्दा स्काउटलाई भाडा तिर्न नसकेको स्वीकार गरे ।

‘स्काउटसँग मलाई जोडर समाचार आउनु नियोजित हो । केही गर्न खोज्दा मान्छेहरुलाई भुडिपोल्ने भएको कारणले राजनीतिक चरित्र हत्या गर्ने सोचका साथ मन्त्रीबाट हटाउन पाए हुन्थ्यो भनेर मात्रै समाचारहरु आएका हुन्,’ उनले भने, ‘स्काउट ऋणमा पुगेपछि मैले टेण्डर प्रक्रियाबाट भाडामा जग्गा लिएको हो । मैले प्रतिस्क्वायर फिट ४७ रुपैयाँ र महिनाको २५ लाख भाडा तिरेर बसेको हो । कम्पनीमा म हुँदासम्म समस्या थिएन । तर स्काउटले विद्युत लाइन काट्ने,गेटमा चाबी लगाउने लगायतका काम निरन्तर भइरहेका थिए । संसदमा पनि यो विषयले प्रवेश पाएको हो । कोभिडको कारणले सटर भाडा तिर्न नसकेको कारण भाडा बुझाउन नसकेको हो । ४ करोड रुपैयाँ उठाउन र ३ करोड तिर्न बाँकी रहेको थियो । महिनाको २५ लाख रुपैयाँ भाडा भएपछि दुई वर्षमा ३ करोड पुग्नु ठूलो कुरा भएन । एक महिनाको भाडा तिर्दा तीन महिनाको भाडा तिर्न सक्दैनन् । सामान्य भाडा लिने र दिनेको कुरा राष्ट्रिय पत्रिकाहरुमा आउनुको पछाडी केही छ । मसँग कानूनी हिसावमा जोडिँदैन ।’

उनले स्काउटले विद्युत लाइन काट्ने,गेटमा ताल्चा लगाउने लगायतका काम निरन्तर भइरहेकाले विवाद बढेको बताए । कम्पनीले ४ करोड रुपैयाँ भाडा उठाउन बाँकी रहेको भन्दै उनले ३ करोड रुपैयाँ स्काउटलाई तिर्न बाँकी रहेको बताए ।


क्लिकमान्डु