बीमा नीति र अर्थतन्त्र सुधारका लागि अर्थमन्त्रीलाई मोरङ उद्योग व्यापार संघले बुझायो ज्ञापनपत्र
काठमाडौं । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेट गरी नेपालको निर्जीवन बीमाका उच्च प्रिमियम दर र अन्यायपूर्ण नीतिहरूका साथै अर्थतन्त्रको आन्तरिक अवस्थाबारे ज्ञापनपत्र बुझाएका छन् ।
संघका अध्यक्ष राठीले ज्ञापनपत्रमार्फत निर्जीवन बीमाका दर भारत र अन्य मुलुकको तुलनामा ५० देखि २०० प्रतिशतसम्म उच्च रहेको र अनावश्यक जोखिमहरूको समेत बीमा अनिवार्य गरिनु न्यायोचित नभएको उल्लेख गरेका छन्। बीमा शुल्क गणनाको कार्यविधि स्पष्ट नभएको, जोखिम वर्गीकरण वैज्ञानिक तरिकाले नगरिएको र बीमा गराउँदा कमिशन दर न्यून गरिनुले उत्पादन लागत उच्च बन्ने बताए ।
राठीले नेपालको भौगोलिक र आर्थिक परिवेशलाई ध्यानमा राखी प्रिमियम दर भारत वा अन्य मुलुकको तुलनामा न्यून राख्न, जोखिमको ऐच्छिक बीमाको व्यवस्था गर्न, बीमा शुल्क पारदर्शी बनाउन, डिजिटल माध्यमबाट नियमन गर्ने व्यवस्था मिलाउन, र १० प्रतिशत बीमा कमिशनको पूर्व व्यवस्था कायम गर्नुपर्ने सुझाव प्रस्तुत गरे ।
अध्यक्ष राठीले अर्थमन्त्रीलाई मुलुकको अर्थतन्त्रको समस्याबारे पनि जानकारी गराउँदै सीमावर्ती क्षेत्रको अवैध कारोबार, चोरी पैठारी र अत्यावश्यक वस्तुहरूको उच्च आयातले औद्योगिक क्षेत्र प्रभावित भएको बताए। विद्युत् आपूर्तिमा अनियमितता, विदेशी मुद्राको संचिति व्यवस्थापनमा सुधार, निर्यात प्रवर्द्धनका लागि अनुदानको दायरा बढाउने, र उच्च कर तथा बीमा शुल्कका कारण उत्पादन लागत घटाउन नीति ल्याउनुपर्नेमा जोड दिए ।
अर्थमन्त्री पौडेलले संघको सुझावलाई ध्यानमा राख्दै आवश्यक नीति सुधारको प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्। संघले बीमा र अर्थतन्त्र सुधारका लागि यथाशीघ्र ठोस कदम चाल्न आग्रह गरेको छ।