जनकपुर बन्यो एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली
काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ ।
बिहीबार भएको खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्ले अफमा पुगेको हो । त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १०३ रनको लक्ष्य पछ्याएको १५ ओभर ५ बलमा ५ विकेट गमाउँदै १०४ रन बनायो ।
जनपुरका लागि जिम्मी निसमले सर्वाधिक २७ रनको योगदान गरे । त्यस्तै हर्श ठाकेरले २५ रनको योगदान गरे । काठमाडौंका लागि करण केसीले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १०२ रन बनाएको थियो । गेहार्ड इर्समुसले २० रनको योगदान गरे । त्यस्तै कप्तान करण केसीले २० रन बनाउँदा स्टिफन इकान्जीले १७ रन बनाए ।
बलिङतर्फ जनकपुका लागि ललितनारायण राजवंशी र शेर मल्लले ३–३ विकेट लिए । आजको खेलमा जित निकाल्दै जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । जनकपुर ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । यता काठमाडौं ५ खेलबाट ४ अंक जोडेर पाँचौं स्थानमा छ ।