उपाधिको रेसबाट बाहिरिने पहिलो टीम बन्यो लुम्बिनी, काठमाडौंको दोस्रो जित
काठमाडौं । लुम्बिनी लायन्स नेपल प्रिमियर लिग उपाधिको रेसबाट बाहिरिने पहिलो टोली बनेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८४ रन बनायो ।
लुम्बिनीका लागि सन्दीप जोराले २६ रन बनाए । त्यस्तै उन्मुक्त चन्दले १४ रनको योगदान गरे । काठमाडौंका लागि करण केसीले ४ विकेट लिँदा दिपेश कँडेलले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १०३ रन बनाएको थियो ।
काठमाडौंका भिम सार्कीले सर्वाधिक ३१ रन बनाए । त्यस्तै प्रतिक श्रेष्ठले २० रन बनाए ।
बलिङतर्फ लुम्बिनीका लागि साड विन जाफरले ३ विकेट लिए । आजको खेलमा जित निकाल्दै काठमाडौंले ४ खेलमा २ जितबाट ४ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । यता ५ खेलमा एक जित निकालेको लुम्बिनीले २ अंक जोडेको छ ।