मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनी नेपाल आएनन्: गगन थापा

224
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले नेपालमा लगानी गर्ने विदेशी कम्पनीलाई कमाएको मुनाफा बाहिर लैजान नदिँदा उनीहरु नेपालमा लगानी गर्न डराइरहको बताएका छन् ।

मंगलवार मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालले विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गरिदियोस् भन्ने चाहेर मात्र उनीहरु लगानी गर्न नआउने बताए।

सरकारले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण अझै बनाउन नसकेको उनको तर्क थियो । रोजगारी दिने काम सरकारको नभई निजी क्षेत्र भएको उल्लेख गर्दै उहाँले त्यसको लागि सरकारले सहज वातावरण सिर्जना गरिदनुपर्ने बताए । नेपालमा एक आर्थिक वर्षमा पाँच लाख मानिसलाई रोजगारी दिनसक्ने गरी निजी क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए ।

थापाले नेपालमा दुई दलीय संयन्त्रमा बनेको सरकारले रोजगारीको मुद्दालाई प्रतिष्पर्धाको विषय बनाउनुपर्ने बताए ।

सबै राजनीतिक दलहरुले २०८४ को मात्र कुरा गर्ने भन्दै अहिलेको जिम्मा कसले लिने हो ? भन्दै प्रश्न गरे । उनले बाँकी रहेको तीन वर्षमा आफूले पाएको जिम्मेवारी सबै राजनीतिक दलहरुले पूरा गर्नुपर्ने बताए ।

सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका नेपाली कम्पनीहरुलाई विदेशी मुद्रा सटही गरेर नेपाल बाहिर पनि लगानी गर्न दिनुपर्ने उनको भनाइ छ । सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको लागि बाहिर लगानी गर्न राष्ट्र बैंकले बाटो खोलिदिनुपर्ने उनको भनाइ छ ।