एनपीएलकै महँगो टोली पोखरा सस्तो टोली कर्णालीसँग पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइजी टोली पोखरा एभेन्जर्स महँगो टोली हो । प्रतियोगिताका लागि क्यानले खुल्ला बिडिङ गर्दा पोखरा महँगो टोली बन्यो । पोखर ३ करोड ५७ लाखमा बिक्री भएको टोली हो ।
पोखराले यो सिजन कमजोर प्रदर्शन गरेको छ । लिगमा आफ्नो ४ खेल खेल्दा ३ खेलमा पराजित छ । उसोत दोस्रो महँगो टोली काठमाडौंले पनि सोचे अनुरुप प्रदर्शन गर्न सकेको छैन् ।
आजको खेलमा पनि पोखराको ब्याटिङ चल्न सकेन । आज सुरुवातमा ओपनरको ब्याटिङ पाँच ओभरसम्म चलेपछि त्यसपछि भने चल्न सकेन । नेपाली टोलीका ओपनर कुशल भुर्तेलको कप्तानीमा रहेको टोली पहिलो सिजन नै कमजोर बनेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले मात्र १०३ रन बनाउन सफल भयो । पोखराले दिएको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर १०६ रन बनायो । आजको खेलमा कर्णालीका विलियम बोसिस्टोले ६ विकेट लिँदै पोखराको ब्याटिङ लाइन नै धोस्त पारेका थिए । आजको खेलमा गुलशन झाले उत्कृष्ट प्रदर्शन गरे ।
नेपाली टोलीका फास्ट बलर सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले आजको खेलमा जित निकाल्दै ५ खेलबाट ६ अंक जोडेको छ । कर्णाली अंक तालिकाको चौथो स्थानमा छ । कर्णाली एनपीएलको सबैभन्दा सस्तो टोली हो । कर्णाली एक करोड ११ लाख ७० हजार रुपैयाँमा बिक्री भएको टोली हो ।
आजको खेलमा जित निकालेपछि ६ विकेट लिएका विलियमले नेपालमा आएर खेल पस्कन पाउँदा धेरै खुसि लागेको बताए । कर्णालीका लागि आजको खेलमा जित दिलाउँदा खुसि भएको बताए । अब कर्णालीले आफ्नो अर्काे खेलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्दैछ । यता पोखराले विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।