ललितपुरमा ६८.३३ प्रतिशत मत खस्यो

49
Shares

ललितपुर । आज सम्पन्न निर्वाचनमा ललितपुरमा ६८.३३ प्रतिशत मत खसेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले अद्यावधिक गरेको तथ्याङ्कअनुसार अनुसार जिल्लाको तीनवटै क्षेत्रमा रहेका दुई लाख ६९ हजर २५५ मतदातामध्ये एक लाख ८३ हजार ९९८ जना मतदाता सहभागी भई सफलतापूर्वक मतदान सम्पन्न भएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

कुल मतदाताका आधारमा यो तथ्याङ्क ६८.३३ प्रतिशत हुन आउँछ । कूल ७७ हजार ७३७ मतदाता रहेको ललितपुर क्षेत्र नं १ मा २६ हजार ८९१ पुरुष र २५ हजार ७४१ महिला गरी जम्मा ५२ हजार ६३२ मतदाताले मतदान गरेको तथ्याङ्क नेपाल प्रहरीले अद्यावधिक गरेको छ ।

त्यसैगरी, ८९ हजार ८२ मतदाता रहेको ललितपुर क्षेत्र नं २ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी जम्मा ६१ हजार ९७५ जनाले मतदान गरेका छन् ।

त्यस्तै, एक लाख दुई हजार ४३६ मतदाता रहेको ललितपुर क्षेत्र नं ३ मा ३५ हजार ५५ महिला र ३४ हजार ३३६ पुरुष गरी जम्मा ६९ हजार ३९१ जनाले मतदान गरेका छन् । निर्वाचन आयोगले ललितपुरको तीनवटै निर्वाचन क्षेत्रका १३१ मतदान स्थलमा ३१८ वटा मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाएको थियो ।