सरकारको नेतृत्व गर्ने दलका नेता नै ठूला सहकारी ठग हुन्, रविमाथि प्रतिशोध: प्रचण्ड
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई रोक्ने होइन भने संसदको विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन र सडकबाट आन्दोलन अघि बढाउने बताए ।
राम्रो बन्दै गरेको विद्युत प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्ता हर्कत स्वीकार्य नहुने बताए ।
आफूले प्रधानमन्त्री हुँदा रुग्न उद्योगहरु सन्चालनको तयारी गरेको उल्लेख गर्दै उनले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुने बताए ।
अध्यक्ष प्रचण्डले देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरुको बाहुल्यता भए पनि उनीहरुलाई बचाउन केन्द्रित रहेको बताए ।
आफ्नाहरुलाई जोगाउदै सारा ठगी नै रवि लामिछानेले गरेको झै गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको उनले बताए।
‘तपाई हामी सबैलाई चासो हुनेलाई थाहा छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरु नै ठूला सहकारी ठग छन् । तिनै नाटकबाजहरुकलाई बचाउन सरकार केन्द्रित छ । उनीहरुलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ ।’
रविलाई आफैंले प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साधेको उनले बताए ।
‘रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले भनेको स्वीकार नगरेको कारण राजनीतिक प्रतिशोधको व्यवहार देखाएको जोकसैले बुझ्नसक्छ,’ उनले भने ।
आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारी पक्राउ गर्ने क्रम बढाउदै जादा बिचौलियाहरुले संसदका पहिलो र दोस्रो पार्टी मिलाएर सरकार बनाएको पनि उनको भनाइ छ ।
विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उनले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गरे ।
अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा सुरु गरेका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेण्डाबाट नै समृद्धिको रुण रोप्ने काम गरिएको स्पष्ट गरे।