रविमाथिको जारी अनुसन्धानलाई प्रभावित गर्नेगरी प्रचण्डले बोल्नु दुर्भाग्यपूर्ण: गृहमन्त्री
सुर्खेत । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित पार्ने प्रयास भइरहेको बताएका छन्।
सुर्खेतमा पत्रकारहरूसँगको कुराकानीमा उनले प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय घेर्ने जस्ता क्रियाकलापले अनुसन्धान प्रक्रियामा अवरोध पुर्याउन खोजिएको बताए ।
लेखकले सरकार मानव अधिकारका विषयमा गम्भीर रहेको र लामिछानेमाथि न्यायसंगत ढंगले अनुसन्धान भइरहेको स्पष्ट पारे । उनले प्रमुख प्रतिपक्षी दलका नेताहरूले न्यायिक प्रक्रियालाई असर गर्ने अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण भएको धारणा राखे।
यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लामिछानेमाथि सरकारले अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै प्रहरी ज्यादति रोक्नुपर्ने बताएका थिए ।
गृहमन्त्री लेखकले कुनै विषयलाई अतिरञ्जना गर्दै भिड जम्मा गरी अनुसन्धानमा अवरोध पुर्याउने कार्य अनुचित भएको बताए । साथै, उनले एमाले–कांग्रेसबीच सुमधुर सम्बन्ध रहेको र सहमति अनुसार नै सरकार अगाडि बढिरहेको जानकारी दिए ।