साढे २ अर्ब लागतमा कोशीमा चार पदयात्रा परियोजना, २०८५ मा बनिसक्ने



विराटनगर । कोशी प्रदेश सरकारले साढे २ अर्बको वास्केट फण्डमा प्रदेशका विभिन्न पहाडी क्षेत्रमा चारवाट पदमार्ग परियोजना कार्यान्वयनमा ल्याएको छ ।

उक्त फण्डमा स्वीस सरकारको एक अर्ब ३५ करोड १५ लाख, प्रदेश सरकारको ४५ करोड ८७ लाख र प्रदेशको स्थानीय २९ वटा पालिकाको ४४ करोड ६७ लाख र संघीय सरकारको १९ करोड ९२ लाख सहित २ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ छ । यो पदमार्गले प्रदेशको सम्वृद्धि र विकासमा सहयोग पुग्ने प्रदेश सरकारको दाबी छ ।

यो परियोजना अन्तर्गत चियावारी पदमार्ग (इलाम फिक्कल श्रीअन्तु) फाल्गुनन्द पदमार्ग (फिदिम, छिन्ताप्पु, सन्दकपु, माइपोखरी, इलाम) लालीगुराँस पदमार्ग ( तुम्लिङटार, खाँदवारी, नुमगुफा पोखरी, वसन्तपुर, जलजले,तिनजुरे, मिल्कें र मन्धुम पदमार्ग (तावाभञ्ज्याङ, टयाम्केडाँडा, चखेवा, डालसिंगे, धोत्रे, जलजले, हाँसपोखरी, मयुङडाँडा) रहेका छन् ।

प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले पर्यटनमा आधारित पदमार्गको आइतवार शुभाम्भ गर्दै विकार र सम्वृद्धिको मूल आधार पर्यटन भएको बताए । उनले प्रदेशको सार्मथ्य, पहिचान र विकास नै पर्यटन भएको उल्लेख गर्दै यसवाट सम्वृद्धि हासिल गर्न सकिने बताए ।

स्वीस राजदूत डा डेनियल म्याउल्यीले मदमार्गमार्फत आर्थिक उन्नती र अवसर खोजी हुने बताउँदै संघीयतालाई बलियो बनाउन स्वीस सरकार हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको बताए ।

कोशी प्रदेशमा पर्यटनको नयाँ सम्भावना ध्यानमा राखेर स्वीस सरकारको सहयोगमा २०८५ साउन सम्ममा परियोजना सक्नेगरी पदमार्गमा आधारिक पर्यटन विकास आयोजना सुरु गरिएको हो । परियोजनामा स्वीस सरकारको १ अर्ब ३५ करोड १५ लाख सहयोग छ ।

प्रदेशका वन वातावरण तथा पर्यटनमन्त्री सदानन्द मण्डलले यो परियोजनाले कोशी प्रदेशको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे । स्वीस सरकारले कोशी प्रदेश सरकारलाई २०७६ सालदेखि विभिन्न परियोजनामा आर्थिक सहयोग गर्दै आएको छ ।

परियोजनावाट एक लाख स्थानीयले प्रत्यक्ष रुपमा फाइदा लिन सक्ने बताइएको छ । प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको र परियोजनाको चार वर्षको अवधिमा ७८ हजार आन्तरिक र वाह्य पर्यटकले पदमार्गको भ्रमण गर्ने लक्ष्य सरकारले राखेको छ । चार सय किलोमिटरको यो पदमार्गमा पर्यटन सम्बन्धी झण्डै दुई हजारले नयाँ रोजगारी पाउने प्रदेश सरकारको अपेक्षा छ ।


क्लिकमान्डु