प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी गर्न राम्रो वातावरण बनेको सन्देश दिन सफलः चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणपछि बीआरआईको कार्यान्वयनबारे न्युज एजेन्सी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले प्रधानमन्त्रीको भ्रमणले चिनियाँ लगानीकर्ता आकर्षित गर्ने वातावरण बनेको बताए ।

भ्रमण दलका सदस्य समेत रहेका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानून, निजी क्षेत्रले लिने पहल लगायतका बारेमा चिनियाँ व्यवसायीहरुलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताए । उनले परम्परागत कानून परिमार्जन,वैदेशिक लगानी सहजीकरणका बारेमा पनि दुई पक्षबीच राम्रो छलफल भएको जानकारी दिए ।

क्रेडिट रेटिङ हुनु आफैंमा राम्रो भएको भन्दै त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको उनको भनाइ छ ।

अध्यक्ष ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानका लागि पनि छलफल गरेको जानकारी दिए ।

‘भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावनाको क्षेत्र, विद्यामान कानून र निजी क्षेत्रले लिने पहल कदमीका बारेमा चीनका व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर रह्यो,’ उनले भने, ‘ क्रेडिट रेटिङ हुनु आफैंमा राम्रो हो र त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको छ । पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानका लागि पनि हामीले आग्रह गरेका छौँ ।’

अध्यक्ष ढकालले २०२५ लाई चीनले नेपाल भ्रमण वर्ष घोषणा गर्नु पर्यटनका लागि सुखद् रहेको बताए । उनले सडक, हवाई,रेल र सञ्चार सञ्जालको विकासबाट जोडिनुपर्ने कुरा प्राथामिकताका साथ राखेको जानकारी दिए ।


क्लिकमान्डु