सेवाप्रदायकसँग मिलेर आरटिडिएफको प्रभावकारी कार्यान्वयन गर्न मन्त्री गुरुङको निर्देशन
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राविधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री गुरुङले बिहीबार जमलस्थित प्राधिकरणको कार्यालय अनुगमनपछि मन्त्री गुरुङले बोर्ड निर्देशक एवं कर्मचारीलाई निर्देशन दिदैँ सेवाप्रदायकसँग समन्व्य गरेर जतिसक्दो छिटो आरटिडिएफ परिचालन गर्न निर्देशन दिएका हुन् ।
मन्त्री गुरुङले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली डिजिटल नेपाल बनाउने अभियान साकार पार्न मन्त्रालय अन्तर्गतका संस्थानको सहकार्य आवश्यक रहेको बताए । उनले सुशासन कायम गर्नका लागि पनि डिजिटल नेपालको परिकल्पना महत्वपूर्ण भएको बताए ।
सबै स्थानीय त र प्रदेशमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमस) लागू गराउन सकियो भने भ्रष्टाचार नियन्त्रणमा ठूलो सहयोग पुग्ने पनि उनको भनाइ छ। उनले यस वर्ष जसरी भए पनि देशैभरी फोरजीको सेवा विस्तार गर्न निर्देशन दिए ।
उनले काठमाडौँ महानगरपालिकामा फाइभजी सेवा सुरु गर्न लागिएको समेत जानकारी दिए। साथै आफ्नै सुरक्षण मुद्रण सञ्चालन गर्न लागिएको उल्लेख गरे।
मन्त्री गुरुङसँगै अनुगमन पुग्नुभएका सञ्चार सचिव राधिका अर्यालले प्राधिकरणको नियमनकारी भूमिका थप प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिइन् । उनले भनिन्, ‘सुरुवात भएका केही परियोजना लामो समयदेखि सम्पन्न हुन सकेका छैनन् भने नयाँ परियोजनामा प्रवेश गर्न सकिएको छैन’ ।
दूरसञ्चार ऐन २०५३ संशोधनको प्रक्रियामा रहेको र यसका केही विषयमा बृहत छलफल आवश्यक रहेको समेत धारणा पनि उनले राखिन् । त्यसअवसरमा प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले कार्यालयका समस्या, कार्य चुनौती र भावी योजनाबारे जानकारी गराए