ब्याजदर घट्दा बिमा कम्पनीको नाफा खुम्चने, ८० प्रतिशत लगानी एफडीमा



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर घटाउँदा बिमा कम्पनीको नाफा पनि घट्ने भएको छ । आम्दानीको महत्त्वपूर्ण हिस्सा ओगट्ने निक्षेपको ब्याज घट्दा उनीहरुको नाफासँगै प्रतिफलमा पनि कमी आउने भएको हो ।

विगतमा मुद्दती निक्षेपको ब्याजदर ९-१० प्रतिशत हुँदा बिमा कम्पनीहरुलाई फाइदा भएको थियो । तर १ वर्षको अविधमा यस्तो दर घटेर ६ प्रतिशतको हाराहारीमा छ ।

अहिले वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.२४ प्रतिशत, विकास बैंकहरुको ५.९४ प्रतिशत र वित्त कम्पनीहरुको ७.२१ प्रतिशत रहेको छ । २०८० असोजमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.९० प्रतिशत, विकास बैंकहरुको ९.३६ प्रतिशत र वित्त कम्पनीहरुको १०.१९ प्रतिशत थियो ।

यसरी ब्याजदर घट्दा बिमा कम्पनीहरुको आम्दानीमा गिरावट आउने देखिएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म जीवन बिमा कम्पनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थामा ५ खर्ब ४३ अर्ब ८७ करोड ९ लाख रुपैयाँ निक्षेपमा राखेका छन् ।

यो जीवन बिमा कम्पनीले असोज मसान्तसम्म गरेको लगानीको ८०.२६ प्रतिशत हो । चालु आर्थिक वर्षको तीन महिनामा जीवन बिमा कम्पनीले विभिन्न ११ वटा क्षेत्रमा ६ अर्ब ७७ अर्ब ५९ करोड २३ लाख रुपैयाँ लगानी गरेको छन् । त्यो लगानीको मूल हिस्सा भनेको उत्पादनमुलक क्षेत्र वा रोजगारी सृजना गर्ने क्षेत्र नभएर बिमा कम्पनीहरुले ब्याज खाँनका लागि बैंकको मुद्दती निक्षेपमा राखेका छन् ।

कम्पनीहरुले यो रकम वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र पूर्वाधार बैंकमा मुद्दती निक्षेपमा राखेका हुन् । बिमा प्राधिकरणले कम्पनीहरुको मागअनुसार नै जीवन बिमकको एकीकृत निर्देशन २०७९ जारी गरेर लगानीका ११ वटा क्षेत्र निर्धारण गरेको छ ।

निर्देशनमा वाणिज्य बैंक र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा ३० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

यस्तै विकास बैंकमा बढीमा १० प्रतिशत र वित्त कम्पनीमा बढीमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । तर, ठूलो हिस्सा वाणिज्य बैंकको मुद्दती निक्षेपमा रहेको छ । असोज मसान्तसम्म जीवन बिमा कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ७२.०७ प्रतिशत अर्थात ४ खर्ब ८८ अर्ब ३९ करोड ६ लाख रुपैयाँ राखेर ब्याज खाइरहेका छन् ।

यस्तै पूर्वाधार बैंकमा कुल लगानीको ०.२६ प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ मुद्दती निक्षेपमा रहेको छ । बिमा प्राधिकरणका अनुसार जीवन बिमा कम्पनीहरुले विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ६.९४ प्रतिशत अर्थात ४६ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ र वित्त कम्पनीमा कुल लगानीको १.०७ प्रतिशत अर्थात ७ अर्ब ३१ करोड १४ लाख रुपैयाँ मुद्दती निक्षेपमा राखेका छन् ।

प्राधिकरणका अुनसार सबै बिमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दती निक्षेपमा पैसा राखेका छन् । तर, पूर्वाधार बैंकको मु्द्दति निक्षेपमा भने नेशनल लाइफले १ अर्ब २५ करोड, रिलायबल लाइफले १० करोड, सिटिजन्स लाइफले १० करोड र सूर्य ज्योति लाइफले ३५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेका छन् । बाँकी कम्पनीले पूर्वाधार बैंकको मुद्दती निक्षेपमा पैसा राखेका छैनन् ।

विकास बैंकको मुद्दती निक्षेपमा पनि सबै जीवन बिमा कम्पनीले पैसा राखेका छन् । तर, वित्त कम्पनीको मुद्दती निक्षेपमा भने सबैले पैसा राखेका छैनन् ।

वित्त कम्पनीको मु्द्दति निक्षेपमा मा नेपाल लाइफ इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्सले लगानी गरेका छैनन् । बाँकी ११ वटा कम्पनीले ७ अर्ब ३१ करोड १४ लाख रुपैयाँ लगानी गरेका छन् ।


क्लिकमान्डु