काठमाडौंमा रवि लामिछानेको बयान सकिएपछि के हुन्छ?
काठमाडौं । सहकारी ठगीका आरोपि पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि नसकिने भएको छ । यसअघि शुक्रबार उनको बयान लिइएको थियो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा लामिछानेलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो ।
भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएका लामिछानेलाई शुक्रबार बिहानदेखि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान भइरहेको छ । आज बयान सकिने सम्भावना न्यून रहेको जिल्ला सरकारी वकिल कार्यालयको भनाइ छ ।
लामिछानेको बयान स्वर्णलक्ष्मी सहकारीका पीडितद्वारा दिइएका जाहेरी र अनुसन्धानबाट आएका तथ्यमाथि आधारित रहेर भइरहेको छ ।
बयान पूरा भए लगत्तै उनलाई पोखरा पठाइने प्रहरीले जनाएको छ ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीमाथि अनुसन्धानका भइरहेको हो ।
उक्त सहकारीको रकम अपचलनबारे पूर्वडीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ । कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौं ल्याएर यसअघि नै बयान लिइएको छ । रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् ।
यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि उक्त फाइल जिल्ला प्रहरी परिसरले कालीमाटीबाट झिकाएर अनुसन्धान अघि बढाएको हो ।
स्वर्णलक्ष्मी सहकारीमा राखेको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको भन्दै प्रहरीमा ५ सय २८ जनाले २०८१ को वैशाखमा जाहेरी दिएका थिए ।
जीबी राई अध्यक्ष रहेको उक्त सहकारीमा रास्वपा सभापति रविलामिछानेसहितले रकम अपचलन गरेको प्रहरीले भौचरसमेत फेला पारेको छ।
स्वर्णलक्ष्मीबाट जीबी र रविले दुई पटक ऋण लिएको तर फिर्ता नगरेको भेटिएको प्रहरीले जनाएको छ।
२०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कात्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ ।
‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार र ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार ऋण लिएका छन् ।
दुई पटक गरी जम्मा ९३ लाख ८६ हजार ऋण लिएका थिए । उनीहरूले ६१ लाख ७३ हजार फिर्ता गरेका छैनन् । गैर कानुनी हिसाबले जीबी र लामिछानेको नाममा प्रवाह भएको ऋणको ३५ थान भौचर प्रहरीले फेला परेको जनाइएको छ ।
लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि यसअघि रुपन्देही लगिएको थियो ।
लामिछानेले हिरासतबाटै सोमबार राति आफूमाथि सरकारी वकिलको कार्यालयबाट पनि षड्यन्त्र भएको आरोप लगाउँदै लामो सन्देश सार्वजनिक गरेका थिए । लामिछानेलाई काठमाडौंमा बयानका लागि कम्तीमा ३ दिन राख्ने तयारी गरिएको छ ।
कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछाने त्यसयता कास्की प्रहरीको हिरासतमा छन् । पछिल्लो पटक लामिछानेलाई कास्की जिल्ला अदालतले मंसिर ९ गते १५ दिनका लागि म्याद थप गरिएको छ ।