
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिना (साउनदेखि कात्तिक) को अवधीमा साढे १३ अर्ब रुपैयाँबराबरको विभिन्न ब्राण्डको मोवाइल फोन नेपालमा भित्रिएको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको पहिलो ४ महिनाको तथ्याँकअनुसार यो अवधीमा १३ अर्ब ४० करोड ४८ लाख ७० हजार रुपैयाँबराबरको ८ लाख २७ हजार ९ सय २५ वटा विभिन्न ब्राण्डको मोवाइल फोन नेपालमा भित्रिएको हो ।
यो परिमाणमा मोवाइल फोन भित्रिँदा सरकारले भने २ अर्ब ४९ करोड ९७ लाख ७ हजार रुपैयाँ राजस्व असुल गरेको छ ।
तथ्याँकअनुसार नेपालमा आयात भएको मोवाइलको कूल परिमाणमध्ये झण्डै ८० प्रतिशत चीनबाट आयात भएको छ भने १५ प्रतिशतको हाराहारीमा भारत र बाँकी ५ प्रतिशत जापान, कोरिया, क्यानाडा, अष्ट्रेलिया, कुवेत, कतार, साउदी अरब, युएई, युके, भियतनाम र अमेरिकाबाट आयात भएको हो ।
आयात भएको कूल ८ लाख २७ हजार ९ सय २५ वटामध्ये चीनबाट मात्रै ९ अर्ब १९ करोड ७१ लाख ९९ हजार रुपैयाँबराबरको ६ लाख ११ हजार ९ सय ९७ वटा विभिन्न ब्राण्डको मोवाइल फोन नेपालमा आयात भएको छ । जसबाट सरकारले १ अर्ब ७१ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व असुल गरेको हो ।
यस्तै भारतबाट ४ अर्ब २ करोड ८४ लाख ६४ हजार रुपैयाँबराबरको २ लाख १३ हजार ४९ वटा मोवाइल फोन नेपालमा भित्रिएको छ । यो मोवाइल फोन नेपालमा भित्र्याउँदा सरकारले भने ७५ करोड १३ लाख २० हजार रुपैयाँ राजस्व आर्जन गरेको छ ।
यसपछि सबैभन्दा बढी भियतनामबाट ९ लाख ६ हजार रुपैयाँबराबरको १ हजार २४ थान, अमेरिकाबाट ४ करोड ९३ लाख ६७ हजार रुपैयाँबराबरको ४ सय १६ थान, युएईबाट ३ करोड ४३ लाख ३९ हजार रुपैयाँबराबरको २ सय ८५ थान, जापानबाट २ करोड ९४ लाख ९२ हजार रुपैयाँबराबरको ३ सय ९२ थान, कोरियाबाट १ करोड १० लाख १६ हजार रुपैयाँबराबरको १ सय ५० थान, अष्ट्रेलियाबाट १ करोड ५१ लाख ८१ हजार रुपैयाँबराबरको १ सय ३८ थान, कतारबाट १ करोड १९ लाख २५ हजार रुपैयाँबराबरको १ सय १ थान र युकेबाट ६५ लाख ७७ हजार रुपैयाँबराबरको ६१ थान मोवाइल नेपालमा भित्रिएको हो ।
२७ करोड ३९ लाखको १४ लाख चार्जर पनि आयात
तथ्याँकअनुसार चार महिनाको अवधीमा भारतसहित विभिन्न मुलुकबाट २७ करोड ३९ लाख २ हजार रुपैयाँबराबरको १४ लाख २३ हजार ७१ थान विभिन्न ब्राण्ड मोवाइलको चार्जर पनि नेपालमा आयात भएको छ ।

मोवाइल चार्जर आयात हुँदा सरकारले ८ करोड ३५ लाख ९४ हजार रुपैयाँ राजस्व आर्जन गरेको छ ।
भित्रिएको मोवाइलको चार्जर पनि सबैभन्दा बढी चीन र भारतबाटै आयात भएको छ ।
जसअनुसार चीनबाट मात्रै ८ करोड ६९ लाख रुपैयाँबराबरको ११ लाख २२ हजार १ सय ८० थान चार्जर भित्रिएको छ भने भारतबाट १ करोड २० लाख २३ हजार रुपैयाँबराबरको १ लाख ७२ हजार ७ सय १७ थान चार्जन भित्रिएको छ ।
चीन र भारतबाहेक अमेरिकाबाट सबैभन्दा बढी आयात भएको हो ।
प्रतिक्रिया