कन्ट्री रेटिङको नतिजा अनुकूल, लगानीका लागि सुरक्षित: अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रुपमा प्रमाणित भएको बताएका छन् ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सार्वभौम क्रेडिट रेटिङको नतिजासँगै नेपाल लगानीका लागि सुरक्षित रहेको प्रमाणित हुने जिकिर गरे ।
क्रेडिट रेटिङको काम सरकारले सुरु गरेको र यो अन्तिम नभइ सुवात भएको उनले बताए ।
उनले क्रेडिट रेटिङलाई निरन्तरता दिने र आवधिक रुपमा अर्थतन्त्रको स्वास्थ्य स्थितिलाई सार्वजनिक गर्दै जाने बताए ।
यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रुपमा नेपाल लगानीका लागि अनुकुल गन्तव्य भएको सन्देश विश्वव्यापी रुपमा गएको बताए ।
उनले नेपालमा लगानी गर्न आह्वान गर्दै नेपालमा लागनी गर्नेहरुले राम्रो प्रतिफल पाउने जिकिर गरे ।
नेपालमा लगानी गर्नका निम्ति उत्साहका साथ सहभागी हुन आह्वान गरे ।
उनले नेपालको अर्थतन्त्रलाई अझ सबल, सुदृढ र शक्तिशाली बनाउने र लगानीका निम्ति अझ अनुकुल परिस्थिति निर्माण गर्न सबैले समान भूमिका खेल्नुपर्ने बताए ।
‘क्रेडिट रेटिङको काम हामीले सुरु गरेका छौँ । यो अन्तिम होइन, सुरुवात थियो । क्रेडिट रेटिङलाई निरन्तरता दिन्छौँ । हामीले आवधिक रुपमा हाम्रो अर्थतन्त्रको स्वास्थ्य स्थिति के छ भन्नेकुरालाई आवधिक रुपमा सार्वजनिक पनि गर्दै जान्छौँ । यो हाम्रो क्रेडिट रेटिङको श्रृंखलाको पहिलो एपिसोड हो । आउने दिनमा यसलाई निरन्तरता दिन्छौँ भन्ने पनि म विश्वास दिलाउन चाहन्छु । यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रुपमा नेपाल लगानीका लागि अनुकुल गन्तव्य हो भन्ने र नेपालमा गरिने लगानी सुरक्षित हुन्छ भन्ने सन्देश विश्वव्यापी रुपमा दिन सफल भएका छौँ । क्रेडिट रेटिङको महत्वपूर्ण पक्ष यो हो,’ उनले भने, ‘संसारभर रहेका लगानीकर्ताहरुलाई आग्रह गर्न चाहन्छु, नेपाल साँच्चै नै लगानीका दृष्टिकोणले सुरक्षित मुलुक हो । यहाँ लगानी गर्नेहरुले राम्रो प्रतिफल आर्जन गर्नसक्छन् । नेपालमा लगानी गर्नका निम्ति उत्साहका साथ सहभागी हुनुस् भनेर संसारभरका निजी क्षेत्रलाई अनुरोध गर्न चाहन्छु ।’