एनसेलले ल्यायो भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा



काठमाडौं । एनसेलका ग्राहकहरूले नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् ।

यो सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर सेवाको फाइदा लिन सक्छन् ।

सधैं अनमा ग्राहकहरूले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन् ।

सेवा प्रयोग गर्दा डेटा सकियो तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सक्ने एनसेलले बताएको छ ।

त्यसैगरी बाँकी डेटालाई पनि भ्वाइसमा रुपान्तर गर्न सकिन्छ ।

कम्पनीका अनुसार यो सुविधा सधैं अनका ३९९, ४९९ र ५९९ रूपैयाँका प्याकहरूमा मान्य रहेको छ ।

ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गई आफूलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्छन् ।

उदाहरणका लागि ग्राहकले ५० मिनेटको भ्वाइस सेवालाई १२५० एमबी डेटासँग साट्न सक्छन्। त्यसैगरी ग्राहकले १ जिबी डेटा ४१ मिनेट भ्वाइस सेवामा रुपान्तर गर्न सक्छन् ।

आफूसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशत सम्मको सेवा आफूलाई आवश्यक सेवा अनुसार साट्न सकिने सुविधा रहेको छ ।

एनसेल एप एनसेल डेटामा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन। एनसेलका ग्राहकले पहिलो पटक यो एप डाउनलोड गर्दा १ जिबी डेटा पनि निःशुल्क प्राप्त गनै सक्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु