सहकारी ठगी: रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी



काठमाडौं । सहकारीको बचत अपचलन आरोपमा पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधिश शिशिरराज ढकालले पक्राउ पुर्जीका लागि अनुमति दिएका हुन् ।

पक्राउ पुर्जी जारी भएसँगै काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धानका लागि बाटो खुलेको हो ।

यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि उक्त फाइल जिल्ला प्रहरी परिसरले कालीमाटीबाट झिकाएर अनुसन्धान अघि बढाएको हो ।

स्वर्णलक्ष्मी सहकारीमा राखेको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको भन्दै प्रहरीमा ५ सय २८ जनाले २०८१ को वैशाखमा जाहेरी दिएका थिए ।

जीबी राई अध्यक्ष रहेको उक्त सहकारीमा रास्वपा सभापति रविलामिछानेसहितले रकम अपचलन गरेको प्रहरीले भौचरसमेत फेला पारेको छ।

स्वर्णलक्ष्मीबाट जीबी र रविले दुई पटक ऋण लिएको तर फिर्ता नगरेको भेटिएको प्रहरीले जनाएको छ।

२०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कात्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ ।

‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार र ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार ऋण लिएका छन् ।

दुई पटक गरी जम्मा ९३ लाख ८६ हजार ऋण लिएका थिए । उनीहरूले ६१ लाख ७३ हजार फिर्ता गरेका छैनन् । गैर कानुनी हिसाबले जीबी र लामिछानेको नाममा प्रवाह भएको ऋणको ३५ थान भौचर प्रहरीले फेला परेको जनाइएको छ ।

हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यससँगै काठमाडौं ल्याउनका लागि बाटो खुलेको छ ।


क्लिकमान्डु