
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको हालैको युद्धका क्रममा चीनका राष्ट्रपति सी चिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अपनाएको भूमिकालाई ‘तटस्थ’ भन्दै उनीहरूको प्रशंसा गरेका छन् ।
फ्रान्सको एभियान–लेस–बेन्समा आयोजित जी–७ शिखर सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले तेहरानको आणविक महत्त्वाकांक्षालाई रोक्ने आफ्नो प्रयासमा उनीहरूले कुनै अवरोध खडा नगरेको बताए । उनले युद्धविराम सम्झौता लागू भएपछि यी दुई नेताका कारण परिस्थिति धेरै सहज भएको भन्दै उनीहरूप्रति कृतज्ञता व्यक्त गरे ।
विशेषगरी राष्ट्रपति सीप्रति लक्षित गर्दै ट्रम्पले चीन पूर्ण रूपमा तटस्थ बसेकोमा आफू निकै खुसी भएको बताए । उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि निकै तटस्थ बसेको र यी दुई शक्तिशाली राष्ट्रले चाहेको भए अमेरिकाका लागि यो युद्ध निकै कठिन बनाउन सक्ने धारणा राखे । ट्रम्पका अनुसार, सी र पुटिनले द्वन्द्वबाट टाढै बसेर परिस्थितिलाई बिग्रन नदिन महत्त्वपूर्ण योगदान गरेका छन् ।
तर, ट्रम्पको यो सकारात्मक टिप्पणी आफ्ना पुराना सहयोगी राष्ट्रहरूप्रति भने निकै कडा देखिएको छ । उनले युरोपेली देशहरू र जापानले सैन्य अभियानमा पर्याप्त सहयोग नगरेको भन्दै उनीहरूको आलोचना गरे । इरानले बन्द गरेको हर्मुज जलमार्ग खोल्ने प्रयासमा पनि सहयोगी राष्ट्रहरूबाट अपेक्षित सहयोग नपाएकोमा उनले असन्तुष्टि पोखे ।
आफ्ना रणनीतिक साझेदारहरूले साथ नदिएको समयमा चीन र रुस जस्ता प्रतिद्वन्द्वीले देखाएको संयम ट्रम्पका लागि अर्थपूर्ण देखिएको छ ।
मस्को र बेइजिङको तेहरानसँग पुरानो र घनिष्ठ सम्बन्ध रहेकाले उनीहरूको भूमिका सधैं चासोको विषय बन्ने गरेको छ । रुसले यसअघि नै यो युद्धले पश्चिभम एसियामा आणविक हतियारको होडबाजी निम्त्याउन सक्ने चेतावनी दिएको थियो भने चीनले अमेरिकाको आक्रमणलाई इरानको सार्वभौमसत्तामाथिको नांगो हस्तक्षेप भन्दै भर्त्सना गरेको थियो ।
अमेरिकी गुप्तचर अधिकारीहरूले चीनले इरानलाई सैन्य प्रयोजनका सामग्रीहरू आपूर्ति गरेको र चिनियाँ तेल प्रशोधन केन्द्रहरूले अमेरिकी प्रतिबन्धलाई बेवास्ता गर्दै इरानी तेल खरिद गरिरहेको दाबी गरे पनि ट्रम्पले भने सीले ‘ठूला हतियार’ नपठाएर सहयोग गरेको जिकिर गरे ।
ट्रम्पका अनुसार, चीनले चाहेको भए आफ्ना तेलका जहाजहरूलाई युद्धपोतको सुरक्षा दिएर हर्मुज जलमार्गमा पठाउन सक्ने थियो तर सीले त्यसो नगरी संकट समाधानमा मद्दत पुर्याएका छन् ।
यता वाशिङटनस्थित चिनियाँ दूतावासका प्रवक्ताले भने चीनको अडान सधैं स्पष्ट रहेको र आफूहरूले युद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि अथक प्रयास गरिरहेको प्रतिक्रिया दिएका छन् ।






प्रतिक्रिया