आईटी निर्याततर्फ ‘कोडावतार’ ले तिर्‍यो सबैभन्दा धेरै कर, विभागद्वारा सम्मानित



काठमाडौं । कोडावतार टेक प्रालि सूचना प्रविधि सम्बन्धी सेवामा करदाताको रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्ने मध्ये कोडावतार धेरै कर तिर्ने कम्पनी बनेको हो ।

कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको छ ।

कम्पनीलाई सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।

आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा कम्पनीका प्रतिनिधिले सम्मानपत्र ग्रहण गरेका थिए ।

काठमाडौंको कालोपुलमा कार्यालय रहेको कोडावतार ०७७ साल असार २६ गते आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा दर्ता भएको विभागले जनाएको छ ।

स्थापना भएको तीन वर्षको अवधिमा नै सूचना प्रविधिको निर्यात गर्दै कोडावतार सबैभन्दा बढी कर भुक्तान गर्ने कम्पनी बनेको हो ।

कोडावतारले २५० भन्दा बढी जनालाई रोजगारी प्रदान गरेको उल्लेख गरेको छ । कोडावतारका डायलेक्सी र क्रिस्प कल दुई क्लाउड टेलिफोनी तथा म्यासेज सेवा छ ।

कोडावतारको डायलेक्सीले स्वास्थ्य, शिक्षा, स्टार्टअप, होटेल, रियलस्टेटलगायत क्षेत्रका कम्पनीलाई इन्टरनेटमा आधारित सञ्चार सेवा उपलब्ध गराउँछ ।

यस्तै, क्रिस्प कलले १०० भन्दा बढी देशमा भर्चुअल सिम नम्बर उपलब्ध गराउने एवं इन्टरनेट आधारित फोनकल सुविधा उपलब्ध गराइरहेको कम्पनीको वेबसाइटमा उल्लेख गरिएको छ । कोडावतरका ४ जना संस्थापक छन् । दिनेश सिलवाल, डा राजेन्द्र डंगोल, प्रशान्त राउत र दिवाकर घिमिरे कोडावतारका संस्थापक हुन् ।


क्लिकमान्डु