रविको बयान सकिएन, भने: खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन (भिडियो)
बुटवल । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज सकिएन ।
मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार बयान नसकिएपछि बुधबार बिहान लिने गरी सकिएको हो ।
बयान नसकिएपछि लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।
लामिछाने आज जिल्ला प्रहरी कार्यालयमै रहने छन् । लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतको अलग्गै कोठामा राखिने प्रहरीले जनाएको छ।
बुधबार बिहान १० बजेदेखि पुनः जिल्ला सरकारी वकिलको कार्यालयमा बयान हुनेछ । गोर्खा मिडिया, सहकारीको रकम हिनामिनासँग सम्बन्धित विभिन्न ७० वटा प्रश्न तयार गरी लामिछानेसँग बयान लिइएको प्रहरी स्रोतको भनाइ छ ।
आजको बयानपछि सरकारी वकिल कार्यालयबाट बाहिरिँदै लामिछाने खोरमा थुनिँदैमा बाघ स्याल नहुने बताएका छन् ।
बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित उपाध्यक्ष छविलाल बञ्जाडे जोशी लगायतलाई पक्राउ गर्न जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले अनुमति दिएको थियो ।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र त्यसको खर्च लामिछानेको हस्ताक्षरमा भएको भन्दै त्यसको अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा, जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ र साढे १२ करोड विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।
छविलाई यसअघि नै रुपन्देही लगेर १३ घण्टा बयान लिँदै पोखरा पठाइएको थियो भने रविलाई रुपन्देही ल्याएर बयान लिन लागिएको हो ।
आइतबार मात्र कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहँदा लामिछानेलाई रुपन्देही लगिएको हो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसै विषयको बयानका लागि लामिछानेलाई रुपन्देही ल्याइएको हो ।