सरकारी वकिल कार्यालयमा रविको बयान सुरु, जिल्ला न्यायाधिवक्तासहित ६ जना र प्रहरी अधिकारी उपस्थित
भैरहवा । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।
सहकारीको बचत रकम अपचलन आरोपमा कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याएलगत्तलै जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेको बयान सुरु गरिएको हो ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि मंगलबार मध्याह्न भैरहवा ल्याइएको हो ।
उनको बयानमा जिल्ला न्यायाधिवक्तासहित ६ जना र प्रहरी अधिकारी उपस्थित भएका छन् ।
‘बयान लिनका लागि जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ताहरु छन्’,स्रोतले भन्यो,‘बयान सुरु भइसकेको छ । प्रहरीका डीएसपीसहितका अधिकारीहरु पनि उपस्थित छन् ।’
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र त्यसको खर्च लामिछानेको हस्ताक्षरमा भएको भन्दै त्यसको अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा, जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ र साढे १२ करोड विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ।