कारवाहीमा परेपछि भैरहवाबाट उडान गर्दै एयर एसिया, त्रिभुवन विमानस्थल बन्दले उडान व्यवस्थापन सकस
काठमाडौं । अनुमतिबिना काठमाडौं विमानस्थलमा ११ कात्तिकमा अवतरण गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाही गरेको एयर एसिया नै यो वर्षको विन्टर सिजनमा भैरहवाबाट नियमति उडान गर्ने पहिलो वायुसेवा भएको छ । एक साता उडान रोकिएर गत आइतबारदेखि मात्रै उडान अनुमति पाएको यो वायुसेवाले आज (शुक्रबार)बाट थाइल्याण्डको बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै छ ।
यो वायुसेवा शुक्रबार विहान ७ बजे आएर ८ बजे फर्कने गरी अनुमति पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए ।
उनका अनुसार थाइ एयर एसियाको बैंककबाट गौतमबुद्ध विमानस्थलको उद्घाटन उडान गत सोमबार (१९ कात्तिक)मा भएको थियो । उक्त जहाजले बिहान ७ बजे अवतरण गरेर ७ः४० बजे प्रस्थान गरेको थियो । यसले आज उडान गरेसँगै अब हरेक सोमबार र बिहीबार नियमित उडान गर्ने गरी अनुमति पाएको तिवारीले बताए । तिवारीका अनुसार शनिबारबाट जजीरा एइरलाइन्स्ले र आइतबारबाट एयर अरेबियाले उडान गर्दै छ ।
काठमाडौं विमानस्थलको ट्याक्सीवे विस्तारका क्रममा राती १० बजेदेखि विहान ८ बजेसम्म दैनिक १० घण्टा उडान बन्द हुने भएकोले भैरहवा विमानस्थल विकल्प भएको छ । यो विमानस्थलबाट नेपाल वायुसेवा निगमले समेत उडानको तयारी गरेको छ। निगमको गत २ महिना अगाडि सिचेकका लागि इटली गएको वाइडबडी मंगलबार आउने भएको छ । निगमको जहाज आएपछि यसले पनि भैरहवाबाट दुबइ नियमित उडान गर्ने भएको छ ।
काठमाडौं विमानस्थलबाट उडान कटौति गर्नुपर्ने भएपनि नेपाल एयरलाइन्सले भैहरवाबाट सातामा चारवटा उडान गर्ने गरी अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिरकरणका अनुसार निगमले हरेक साता आइत, सोम, बुध र शुक्रबार भैरहवाबाट दुबई उडान गर्ने भएको छ ।
काठमाडौं विमानस्थल विस्तारका क्रममा बन्द हुने भएपछि लामो समयदेखि व्यवसायिक प्रयोगमा आउन नसकेको भैरहवा विमानस्थलले बिजनेश पाउने भएको छ । यो विमानस्थलमा गत वर्ष जजीरा एयरले केही समय उडान गरेर बन्द गरेको थियो । जजीरारले काठमाडौं उडान गर्न भैहरवा जानैपर्ने बाध्यतकाका कारण शनिबारदेखि उडान गर्दै छ ।
काठमाडौं विमानस्थल बन्द हुने भएपनि आन्तरिक र वाह्य उडानका वायुसेवालाई उडान व्यवस्थापन मिलाउने भने सकस भएको छ । भैरहवा विमानस्थलबाट हुने उडान उडान अवतरणमा असहजता भएको भन्दै यात्रु तथा वायुसेवाले अनिच्छा देखाइरहेको बेला बाध्यात्यमक उडान मात्रै हुन लागेको हो ।
काठमाडौं विमानस्थल वितारका क्रममा करिब ५ महिना १० घण्टा विमानस्थल बन्द हुने भएकोले काठमाडौं विमानस्थलबाट हुने उडान अवतरणको तालिका मिलाउन विमानस्थल कार्यालय र सम्बन्धित वायुेवलाई सकस भइरहेको छ ।
विमानस्थल बन्द हुँदा आन्तरिक वायुसेवाकासमेत ३० प्रतिशतले उडान कटौति हुने भएका छन । आन्तरिक वायुसेवा कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले बाध्य भएर उडान कटौति गर्नुपरेको भन्दै समयमा नै मर्मत सक्न आग्रह गर्दै उडान तालिका परिमार्जन गरेको बताएको छ ।