टिकटक आधिकारिक रुपमा नेपालमा दर्ता, प्रमाणपत्र मंगलबार जारी



काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ। ठूलो सामाजिक सञ्जाल दर्ता हुनु र हाम्रो शर्त पालना गर्नुलाई सकारात्मक रुपमा लिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताए । उनका अनुसार टिकटक तिहार अगाडि नै नेपालमा आधिकारिक रूपमा दर्ता भइसको भएपनि यसले हिजो मंगलबार मात्रै पत्र बुझेको छ ।

टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका अनुसार दर्ता भएको प्रवक्ता ठाकुरले जानकारी दिए । उनले भने ‘सरकारले राखेका सबै सर्त र निर्देशिकाले गरेको व्यवस्था अनुसार टिकटक दर्ता भएको हो ।’

टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो। दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता भएको उल्लेख छ ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

२०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द भएको थियो । त्यसको करिब एक वर्षपछि दशैंअगाडि टिकटक खुलेको हो । सरकारले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट गत वर्ष नै पारित गरेको छ ।


क्लिकमान्डु