पोखरामा तनाव: अश्रुग्यास प्रहारपछि रास्वपाका ८ जना कार्यकर्ता पक्राउ

म्याद थपका लागि रवि लामिछाने अदालतमा



फाइल तस्बिर

पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउको बिरोधमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ८ कार्यकर्ता पक्राउ परेका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार अदालत उपस्थित गराइएपछि रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा रहेका प्रहरीमाथि आक्रमण गर्न थालेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

त्यसअघि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो ।

सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छवि जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुरलाई मंगलबार अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्की जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेलाई ७ दिन थप हिरासतमा राख्न अनुमति दिएको थियो ।

८ गतेबाट सातदिन कात्तिक १४ गतेसम्म भए पनि १५ गतेबाट तिहार बिदा परेपछि बिदा सकिए लगत्तै लामिछानेलाई अदालत पेस गरिएको हो ।

सरकारी बिदा सकिएपछि कार्यालय खुलेको पहिलो दिन प्रहरीले आरोपीलाई अदालतमा उपस्थित गराउने गर्छ । अदालत तिहारको टीका सकिएको पर्सीपल्ट अर्थात २० गतेबाट मात्र खुलेपछि आज लामिछाने लगायतलाई प्रहरीले अदालतमा पेस गरेको हो ।

लामिछाने लगायतमाथि अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो ।

कात्तिक २ गते काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।

अदालतले प्रहरीलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न अनुमति दिएको छ ।

तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो ।

लामिछाने यही कात्तिक २ गेत साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए ।

गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

राजनीतिक प्रतिशोधले पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको बताउँदै रास्वपाले बिरोध प्रदर्शन गर्दै आएको छ ।


क्लिकमान्डु