रविलाई प्रहरीले तेस्रोपटक अदालत लग्यो, आज पनि म्याद थप होला ?
पोखरा । पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित गराएको छ ।
सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छवि जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुरलाई मंगलबार अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेलाई ७ दिन थप हिरासतमा राख्न अनुमति दिएको थियो ।
८ गतेबाट सातदिन कात्तिक १४ गतेसम्म भए पनि १५ गतेबाट तिहार बिदा परेपछि बिदा सकिए लगत्तै लामिछानेलाई अदालत पेस गरिएको हो ।
सरकारी बिदा सकिएपछि कार्यालय खुलेको पहिलो दिन प्रहरीले आरोपीलाई अदालतमा उपस्थित गराउने गर्छ । अदालत तिहारको टीका सकिएको पर्सीपल्ट अर्थात २० गतेबाट मात्र खुलेपछि आज लामिछाने लगायतलाई प्रहरीले अदालतमा पेस गरेको हो ।
लामिछाने लगायतमाथि अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो ।
कात्तिक २ गते काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।
अदालतले प्रहरीलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न अनुमति दिएको छ ।
तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो ।
लामिछाने यही कात्तिक २ गेत साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए ।
गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।
राजनीतिक प्रतिशोधले पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको बताउँदै रास्वपाले बिरोध प्रदर्शन गर्दै आएको छ ।
रविलाई पक्राउ गरि पोखरा ल्याइएपछि रास्वपाका नेता कार्यकर्ता भने आन्दोलित भएका छन् । पोखराको सहिद चोक लगायतका स्थानमा रास्वपाका नेता कार्यकर्ताले आन्दोलन गरेका थिए । तिहार अघि रास्वपाले काठमाडौंमा पनि प्रदर्शन गरेको थियो ।