उडान अनुमति नभएको विमानलाई ल्याण्ड गर्न उड्डयन प्राधिकरण नेतृत्वको दबाब
काठमाडौं । थाइल्याण्डको बैंककबाट काठमाडौं आएको एयर एसियाको विमान आइतबार दिउँसो नेपाली आकासमा झण्डै ४५ मिनेट होल्ड भयो ।
आइतबार विहान बैंककबाट स्थानीय समय अनुसार ११ बजेर ५० मिनेटमा उडेको विमान काठमाडौं विमानस्थलमा अवतरण गर्ने अनुमति नपाएपछि करिब ४५ मिनट नेपाली आकाशमा घुमेको हो । उडान अवतरण अनुमति समाप्त भएपछि विमानस्थलले थाइ एयर एसियाको विमान अवतरण गर्न नदिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले उडान अनुमति सकिएको विमानलाई उडान अवतरण गर्न दिन नसकिने बताएका थिए । तर नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीले भने विमान अवतरण गर्न दिन दबाब दिएका थिए ।
‘विन्टर सिजन का लागि उडान अनुमति नभएको विमान डाइभर्ट गर्नुपर्छ भन्ने जीएमसापको भनाइ थियो तर डीजीले अवतरण गर्न दबाब दिएका थिए,’ स्रोतले भन्यो, ‘पछि अवतरण गर्न दिने निर्णय भयो ।’
स्थानीय समयअनुसार नेपालमा २ बजे अवतरण हुनुपर्ने विमान नेपाली आकाशमा झण्डै ४५ मिनेट होल्ड भएपछि अवतरणका लागि अनुमति पाएको थियो ।
उडान र अवतरणको अनुमति पाएको थाइ एयर एसिया अनुमति नलिइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको हो ।
अनुमति नलिएको विमानलाई प्राधिकरण नेतृत्वको दबाबमा डाइभर्ट नगरी अवतरण गर्न दिइएको स्रोतको भनाइ छ ।
‘थाइ एयर एसियाले अनुमति नलिइ उडान भरेको हो,’ स्रोतले भन्यो, ‘उडान अनुमति नै नभएको विमानलाई प्राधिकरण नेतृत्वले ल्याण्ड गर्न दबाब दियो । जसरी पनि ल्याण्ड गर्नुपर्छ डाइभर्ट गर्न हुँदै भन्ने डीजीसापको अडानमा केही गडबड देखिन्छ।’
विमानस्थलका महाप्रवन्धक निरौलाले नेपाली आकाशमा आइसकेको विमानलाई अवतरणको अनुमति दिइएको जानकारी दिए।
‘होल्ड भएको विमानलाई अवतरण गराउने र आवश्यक कारबाही गर्ने गरि अनुमति दिइएको हो,’ उनले भने ।