अदालतमा रवि र छवि म्याद थप सम्बन्धी बहस सुरु, बाहिर रास्वपाको प्रदर्शन
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस सुरु भएको हो ।
म्याद थप भइरहँदा सहिद चोक, वाइ चोकमा रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् भने ति स्थानमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
रास्वपा र सहकारी पीडितको प्रदर्शनले अवरोध हुनसक्ने भन्दै अदालत खुले लगत्तै उनीहरुलाई अदालतमा उपस्थित गराइएको हो ।
आइतबार अदालतले लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको समय दिएको थियो । उक्त समय आजबाट सकिएपछि पुन म्याद थपका लागि अदालत लगिएको हो ।
लामिछानेलाई गत शुक्रबार काठमाडौं स्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरि पोखरा ल्याइएको थियो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम अवैध रुपमा गोर्खा मिडिया प्रालिमा गएको भन्दै लामिछानेमाथि अनुसन्धान थालिएको हो । लामिछाने गोर्खा मिडियाको ग्यालेक्सी टेलिभिजनका प्रवन्ध निर्देशक हुन् ।