नयाँ खाना खाने र बनाउने पारखी हुन् सुशील भट्ट, भन्छन्ः सहरकै उत्कृष्ट बिरयानी पकाउन सक्छु



काठमाडौं । इन्जिनियर सुशील भट्ट अरुबेला किचेन पसेको आमा, श्रीमती र बुहारीले खासै रुचाउँदैनन् । तर, चाडपर्वमा भने पकाउने अफर गर्छन् ।

खानामा निरन्तर एक्प्लोर गर्दै जाने बानी उनको छ । नयाँ नयाँ रेसिपी पकाउने प्रयास गर्छन्, युट्युब हेरेर सिक्छन्, विदेश जाँदा पनि त्यहाँको विशेष खाना खोज्छन् ।

खाना पकाउनुलाई स्ट्रेस बस्टरको रुपमा लिन्छन् । ‘खाना पकाउने वृहत् प्रक्रिया हो, जोकोहीको बशको कुरा होइन,’ भट्ट भन्छन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र राष्ट्रिय योजना आयोगको सदस्य रहिसकेका भट्टलाई अरुलाई जस्तै बाल्यकालमा नयाँ नाना पाइन्छ भन्ने हुन्थ्यो । मासुलगायत मिठो खानेकुरा पाक्छ भन्ने हुन्थ्यो । दक्षिणा र चलकेट पाइन्छ भन्ने हुन्थ्यो । अहिले भने परिवेश फेरिएको छ, दशैं भेटघाटका लागि विषेश हुने गरेको छ ।

‘किनमेलका लागि आमासँग बजार गइन्थ्यो, नयाँ नोट गोजीमा हुँदा मन फुरुंग हुन्थ्यो,’ भट्ट भन्छन्, ‘दशैं मासुबाट च्याउ, पनिर र तोफुतिर सिफ्ट हुन थालेको छ ।’

खाना पकाउने भट्टको विशेष रुची हो । एकपल्ट कोही साथीले पार्टी दिन खोज्दा भट्टले घर डाकेर आफैंले पकाएर खुवाइदिएका थिए ।

‘म टुरिस्ट कुक हुँ, छोराछोरीलाई मैले पकाएको खाने मन भएपछि किचेन छिर्छु,’ उनले भने, ‘यसै पकाउँदिनँ, मुड पनि चल्नुपर्छ ।’

खाना पकाउने प्रक्रियालाई एक जटिल प्रक्रिया मान्ने भट्ट कुशल व्यवस्थापकबाहेकले खाना पकाउन नसक्ने दाबी गर्छन् । बिरयानी पकाउन विशेष रुची राख्ने भट्टले अंग्रेजीमा भने, ‘आई क्याक कुक बेस्ट बिरयानी इन द टाउन ।’ अर्थात्, ‘म सहरकै उत्कृष्ट बिरयानी पकाउन सक्छु ।’

बिरयानीको गढमै खाएको बिरयानीभन्दा मिठो बनाएको टिप्पणी गरेपछि आफूलाई आफ्नो कला र क्षमता थाहा भएको भट्ट सुनाउँछन् । उनका अनुसार घरमा के पकाउने भन्ने एक दिन अघि नै माइन्ड मेकअप गर्नुपर्छ ।

रोटी बाहेक सबथोक पकाउन सक्ने भट्ट भन्छन्, ‘आमाले पकाएको रोटी–कडी, श्रीमतीको सिम्पल खाना र बुहारीको कन्टिनेन्टल फुडले घरमा निकै राम्रो कम्बिनेसन हुन्छ ।’

उनी भिडभाड हुने रेस्टुरेन्टमा मात्र खान्छन् किनकी त्यहाँ पकाएका खाना सकिइहाल्ने भएकाले ताजा खाना पाइने दाबी गर्छन् ।

किचेनको विषयमा भट्टको बुझाइ फरक छ । परम्परागत सोचअनुसार नै कुरा गर्ने हो भने भान्सा अब महिलाको क्याबिनेट नरहेको उनको तर्क छ । उनी भन्छन्, ‘होटलमा हेर्नुस् त, सबैजसो सेफ पुरुष छन् ।’

रेस्टुरेन्टमा पाइने खाना झैं घरमा आमा वा श्रीमतीले पकाउने खाना पनि जीडीपीमा गणना हुनुपर्ने तर्क भट्ट राख्छन् । किनकी घरमा खाना नपाक्ने हो भने रेस्टुरेन्टमा खर्च गर्नुपर्छ । यसरी खर्चयोग्य रकम बचत हुने भएकाले देशको अर्थतन्त्रमा घरमा पाक्ने खाना जोड्नुपर्ने उनी बताउँछन् ।

उनी भन्छन्, ‘खाना विज्ञान र कला हो, मैले पकाउँदा फिडब्याक अपेक्षा गर्छु ।’ सानोमा टन्नै पिङ खेलेको तर अहिले डर लाग्न थालेको अनुभव उनको छ ।

प्रस्तुत छ, खाना खान र बनाउन भनेपछि हुरुक्कै हुने उनै भट्टसँग क्लिकमान्डुका लागि रोविन पौडेलले गरेको संवादः


रोविन पौडेल