१८ गतेसम्म भारी वर्षाको सम्भावना, पूर्वका ९ जिल्लामा बाढीको जोखिम



काठमाडौं । आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेको भन्दै सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो ।

‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणको सूचनामा भनिएको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको सूचनामा ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना रहेको भन्दै आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइराख्न अनुरोध गरेको छ ।

महाशाखाका अनुसार ठूला नदीहरुमा बाढीको जोखिम नभए पनि साना नदी तथा खोलाहरुमा आकस्मिक बाढीको जोखिम छ।

आज र भोलि कन्काई नदीको जलसतह उल्लेख्य रुपमा बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने सम्भावना छ । जलसतह उल्लेख्य बढ्ने भएकाले कन्काई नदी किनार क्षेत्रमा भने उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

नेपालका ठूला नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सामान्य मात्र घटबढ हुने र सतर्कता तहभन्दा तलै रहने सम्भावना छ । त्यसैले यी नदी किनारमा आज र भोलि सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास भई बग्ने केही साना नदीहरुको बहाव भने बढ्ने पूर्वानुमान छ । त्यसैले बहाव बढ्ने पूर्वानुमान गरिएका नदी किनारमा सतर्कता अपनाइराख्न महाशाखाले सुझाव दिएको छ ।


क्लिकमान्डु