कालिमाटी तरकारी बजारमा आज : पर्याप्त परिमाणमा हुन थाल्यो तरकारीको आपूर्ति, यस्तो छ तरकारीको मूल्य



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा विस्तारै तरकारीको आगमन सहज हुन थालेको छ ।

बुधबारदेखि उक्त बजारमा सामान्य समयमा भित्रिने परिमाणमै तरकारी भित्रिएको छ । विस्तारै बाटो खुल्दै गएपछि उपत्यकासहित बाहिरी जिल्लाबाट सहज रुपमा तरकारीको आगमन हुन थालेपछि बुधबार उक्त बजारमा ८ हजार १ सय ९१ मेट्रिक टन तरकारी भित्रिएको हो ।

सामान्य समयमा पनि ८ हजारदेखि ९ हजार मेट्रिक टनको हाराहारीमा ताजा तरकारी उक्त बजारमा भित्रिने कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले जनाएको छ ।

बाढीका कारण गत् शुक्रबार निक्कै कम परिमाणमा तरकारी आपूर्ति भएको थियो भने शनिबार करिब तरकारीको आपूर्ति हुन सकेको थिएन । बाढीले काठमाडौं जोड्ने सबै सडक खण्डहरु अवरुद्ध हुँदा आपूर्ति प्रणाली प्रभावित बनेको थियो ।

केही तरकारीको मूल्यबाहेक अन्य तरकारीको थोक मूल्य बाढि आउनु अघिकै मूल्य सीमाभित्र रहेको पाइएको छ । बुधबार ठूलो गोलभेडा १२०, सानो गोलभेडा ६५, टनेलको सानो गोलभेडा ८३.७५, रातो आलु ८२, मुढे रातो आलु ७२.६७, सुकेको प्याज १२७.६७, गाजर १३५, बन्दा ७५ रुपैयाँ प्रतिकिलोमा कालिमाटी बजारमा कारोबार गरेको छ ।

यस्तै स्थानीय काउली ७०, सेतो मुला ४५, लाम्चो भान्टा ५५, डल्लो भान्टा ५५, टने बोडी १२५, घिउ सिमी १२५, टाटे सिमी ९५, तिते करेला ९५, लौंका ९५, परवर ११०, चिचिण्डो ७५, घिरौला ९५, पाकेको फर्सी ५५, हरियो डल्ले फर्सी ६५, भिण्डी ११०, बरेला १३५ र स्कुस ४५ रुपैयाँ प्रतिकिलोमा बुधबार थोक बजारमा बिक्री भएको छ ।

त्यस्तै गरी रायो साग ८५, पालुङ्गो साग ९५, तोरीको साग ६५, कन्ये च्याउ १७५, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, न्युरो साग ८५, ब्रोकाउली ९५, अदुवा १९०, भेडे खुर्सानी १७० र लसुन ३१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु