सरकारले सडक सञ्चालनका लागि काम गरिरहेको छ: गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको बताए ।

त्यसपछि राहत वितरण, घाइतेहरुको उपचार र अवरुद्ध भएका सडक सञ्जालहरु सुचारु गर्नका लागि सरकार क्रियाशिल भइरहेको उनको भनाइ छ ।

विभिन्न सडक मार्गमा अलपत्र परेका यात्रुहरुलाई हेलिकप्टरमार्फत उद्धार गरिएको उनले जानकारी गराए ।

बिरामीहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको उनको भनाइ छ । त्यस्तै सडक सञ्जाल मर्मतको काम पनि सबै अवरुद्ध भएका ठाउँहरुमा चलिरहेको उनले बताए ।

गृहमन्त्री लेखकले ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणहरुलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भए पनि सम्भव नभएको प्रष्ट्याए ।

नख्खु बाढीमा टिनको छानामाथि बसेर गुहार मागिरहेका नागरिकहरुलाई समयमै उद्धार गर्न नसक्दा उनीहरु बगेका थिए । सो कुराको सांसदहरुले आलोचना गरेसँगै उनले त्यहाँ उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेको भए पनि प्रतिकुल मौसमका कारण उद्धार सम्भव नभएको बताए ।

गृहमन्त्री लेखकले विपद्मा परी हालसम्म २१८ जनाको मृत्यु भएको जानकारी गराए । त्यसैगरी १४३ जना घाइते र २७ जना बेपत्ता भएको उनले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्वयंसेवकहरुले ४ हजार २२२ जनाको सुरक्षित उद्धार गरेको उनको भनाइ छ ।


क्लिकमान्डु