एमएडब्लू वृद्धिले भन्यो: दीपाल कारमा कुनै समस्या छैन



काठमाडौं । चिनियाँ कार कम्पनी चांगनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले आफूले बेच्ने कारमा कुनै समस्या नरहेको दाबी गरेको छ । ‘उकालोमा नतान्ने, रेन्ज नदिने र चार्ज ड्रप हुने समस्याबाट दीपाल गाडी किन्ने वाक्क, ३ महिना नपुग्दै बेच्न थाले‘ शीर्षकको समाचारमा उल्लेख भए अनुसारको समस्या नभएको कम्पनीको दाबी छ ।

कम्पनीले उत्पादन गर्ने दिपाल कारमा उकालोमा टर्क गुमाउने समस्या नरहेको, भनेअनुसार नै रेन्ज दिने, पानी चुहिने समस्या नरहेको, चार्ज ड्रप नहुने, चार्ज सकिए पनि ढोका खोल्न समस्या नहुने, सुरक्षाका लागि संकेत ध्वनी रहेको, टच स्क्रिनले काम नगरे पनि गाडी चलाउन समस्या नहुने, विन्डसिल्ड फुटे पनि समस्या नपर्ने, सुरक्षा र सेवामा समस्या नरहेको जस्ता विषय स्पष्ट पारेको छ । साथै सेकेन्ड ह्यान्ड प्लेटफर्ममा पनि किन्न नपाउने र कार ९९ किलोवाटकै रहेको एमएडब्लू वृद्धिको दाबी छ ।

कम्पनीले बेच्ने कारमा उकालोमा टर्क गुमाउने समस्या नरहेको कम्पनीको भनाइ छ । दीपल एस०७ का प्रयोगकर्ताले नागढुंगा मात्र होइन, त्योभन्दा भिरालो उकालोमा दिपल चलाइरहेको र ति सवारीमा कुनै समस्या नदेखिएको कम्पनीको भनाइ छ ।

नेपालमा दीपलले ४१० किलोमिटरको रेन्ज दाबी गरेकोमा यसका प्रयोगकर्ताहरुले सोही बमोजिमको रेन्ज पाइरहेको कम्पनीको भनाइ छ । इको बाहेकका मोडहरुमा गाडी चलाउँदा धेरै चार्ज ड्रप भएर गाडीले रेन्ज नै नदिने भन्ने नहुने कम्पनीको भनाइ छ ।
दीपल एस०७ गाडीहरुमा अन्तर्राष्ट्रिय मापदण्डहरु अनुरुप कडा पानी चुहावट परीक्षण गरी यसको क्याबिनमा कुनै पनि चुहावट नहुने कुरा सुनिश्चित गरिएको हुने कम्पनीको भनाइ छ ।

गाडीमा चार्ज ड्रप हुने समस्या नरहेको र यस्तो कुनै गुनासो ग्राहकबाट नपाइएको बताइएको छ । दीपलमा अटोमेटेड प्रणालीको साथ साथै फ्लस ह्यान्डल छ, जुन परम्परागत ह्यान्डल जस्तो भिजिबल नभए तापनि यो एक म्यानुअल ह्यान्डल नै भएको कम्पनीको दाबी छ । अर्कातर्फ ब्लाइन्ड स्पट डिटेक्सन आधुनिक गाडीमा हुने सुरक्षा फिचर रहेको कम्पनीले जनाएको छ ।
दीपल एस०७ का धेरै फङ्सनहरु टच स्क्रिनकाट नियन्त्रण हुने भए तापनि टच स्क्रिन बिग्रिएपछि गाडी चल्दै नचल्ने भनाइमा सत्यता नरहेको कम्पनीको भनाइ छ ।

गाडीको विन्डसिल्ड फुटेमा वा विग्रिएमा सूचनाको लागी सेन्ट्रल स्क्रिनमा हेर्न सकिने एमएडब्लू वृद्धिको भनाइ छ । यस्तै दीपलमा यात्रुहरुको उच्चतम् सुरक्षा सुनिश्चित गर्न फ्रन्ट, साइड र कर्टेन गरी ६ वटा एयरब्याग रहेका रहेको र ती एयर ब्याग दुर्घटनामा बिना कुनै समस्या तोकिएको भन्दा बढी इम्प्याक्टमा खुल्छन् । गाडीमा रहेको लिथियम एनएमसी व्याट्रिले ८७ किलोवाटसम्मको फास्ट चार्जिङ्ग र ७ किलोवाटसम्मको ए.सि. चार्जिङ्ग सपोर्ट गर्ने कम्पनीको भनाइ छ । दीपत्तको आफ्टर सेल्स सर्भिसप्रति प्रयोगकर्ता सन्तुष्ट रहेको बताइएको छ ।

यता हाम्रा बजारमा बिक्रीमा राखिएको भनिएको एउटा दीपल गाडी सेकेन्ड ह्यान्ड नभई ब्राण्ड न्यु गाडी भएको कम्पनीको दाबी छ ।

यता नेपालमा आयात हुने दीपल गाडीको पावर ९९ किलोवाट नै भएको हुनाले यसमा यस कम्पनीले १९० किलोवाटको गाडी ९९ किलोबाट भनी भन्सार नछलेको एमएडब्लुले स्पष्ट पारेको छ ।

‘अन्तर्राष्ट्रिय बजारमा दीपलको गाडी १९० र १६० किलोवाटको भेरिएसनमा उपलब्ध भए तापनि चांगानले नेपाली बजारको लागि भनेर ९९ किलोवाटको बनाएको हो । १९० र १६० किलोवाटको दीपलको गाडीको मोडल नेपालमा आयात हुने ९९ किलोवाटको गाडीभन्दा फरक छ,’ खण्डनमा भनिएको छ, ‘विधिवत् रुपमा नेपालको आधिकारिक निकायबाट भन्सारको चेक जाँच पास गरी नेपालमा आयात गरेको गाडीमा अनियमित तरिकाले भन्सार छल्न किलोवाट घटाइएको छैन ।’


क्लिकमान्डु