सवा ४ बजेदेखि आधा घण्टा किन बन्द हुँदैछ त्रिभुवन विमास्थल ?



काठमाडौं । यात्रुको चापले विमान उडानको व्यवस्थापन मिलाउन सकस परिरहेको बेला आधा घण्टा विमानस्थल बन्द हुने भएको छ ।

विमानस्थल कार्यालयका अनुसार आइतबार अपराह्न सवा ४ बजेदेखि ४ बजेर ४५ मिनेटसम्म नोटाम(नोटिस टु एयरम्यान) जारी भएको हुँदा उक्त अवधिमा विमानस्थल बन्द हुने छ । यो समयमा भीआईपी उडान हुने भएकाले अन्य विमानको उडान तथा अवतरण ठप्प हुने छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर आज स्वदेश फिर्ता हुँदै छन् । उनी कतार एयरलाइन्सको जहाजमार्फत सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका रहेको छ ।

तीन दिनको अविरल वर्षापछि आइतबारबाट हवाई सेवा सञ्चालन भइरहेको छ । तर, सडक मार्ग अवरुद्ध हुँदा र तीन दिनका यात्रुको चाप पर्दा यतिबेला विमानस्थलमा यात्रुको अत्यधिक चाप रहेको छ । एयरलाइन्सहरुलाई पनि उडानको व्यवस्थापन मिलाउन निकै सकस परेको छ ।

चापका कारण उडानहरु प्रभावित भएका छन् । तोकिएको सेड्युल भन्दा २ घण्टा बढी डिले भएर विमानहरुले उडान भर्नुपर्ने अवस्था छ ।

आज बुध्द एयरको मात्रै ५ वटा माउन्टेन र ७८ वटा नियमिय उडानको तालिका छ । यो तालिकाअनुसार बुद्धले मात्रै १६१ वटा उडान गर्दै छ ।

यतिको पनि एक माउन्टेन र ३५ उडान छ । यतिले पनि आज ७० वटा उडान गर्ने तालिका राखेको छ ।

हिजोदेखि ढिलो भएको उडान आजको लागि गर्नुपर्दा र आजको पनि चाप थपिएकोले उडान व्यवस्थापन मिलाउन गाह्रो भएको यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

चाप व्यवस्थापन गर्न सकस परिरेका बेला भीआईपी उडानले गर्दा विमानस्थलमा अन्य उडान अवतरण नहुँदा यात्रुले थप कुर्नुपर्ने देखिएको छ ।


क्लिकमान्डु