माओवादीको विद्यार्थी संगठनको सम्मेलनमा कुर्सी हानाहान



काठमाडौं । माओवादी निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को सम्मेलनमा कुर्सी हानाहान भएको छ ।

असोज १० गतेदेखि जारी २३औं राष्ट्रिय सम्मेलनमा नेतृत्वका आकांक्षीका समर्थकबीच कुर्सी हानाहान भएको हो ।

उमेरहदमाथि मतदान गराउने सन्दर्भलाई लिएर उनीहरूबीच कुर्सी हानाहान भएको हो । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने माग प्रतिनिधिहरुले राखेका छन् ।

विधान र राजनीतिक प्रतिवेदन माथि आइतबार विचार राख्ने क्रममा प्रतिनिधिहरुले ३२ वर्षे उमेर हद लागु गर्नुपर्ने मत राखेका हुन् । प्रस्तावित विधानमा अर्को राष्ट्रिय सम्मेलन पछि ३२ वर्षे उमेर हदको लागु हुने व्यवस्था राखिएको छ ।

अखिल क्रान्तिकारीका नेताहरुका अनुसार ३२ वर्षे उमेर हद लगाउँदा अहिले अध्यक्षमा दाबी गर्ने सबैजना उम्मेदवार हुन पाउने छैनन् । अध्यक्षका लागि १८ जनाले दाबी गरेका छन् ।

अधिकांश अध्यक्षका दावेदार नेताहरु उमेर हद लगाउन नहुने पक्षमा छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी संगठनमा उमेरहद कायम गर्नुपर्ने भन्दै निर्वाचनबाट त्यसको टुंगो लगाउन निर्देशन दिएपछि क्रान्तिकारीले उमेर हदको तयारी गरेको थियो ।

कुर्सी हानाहान भएपछि प्रहरीले सामान्य बल प्रयोग गरेर हुलदंगा नियन्त्रण गरेको छ ।

यसअघि आइतबार पनि सहभागीसँग दुई हजार प्रवेश शुल्क तोकिएको भन्दै लफडा भएको थियो ।


क्लिकमान्डु