कोशी प्रदेशले माघ दोस्रो साता लगानी सम्मेलन गर्ने



विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशमा लगानीको वातावरण बनाउनका लागि पहिलो पटक लगानी सम्मेलन गर्ने तयारी गरेको छ ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले आगामी माघ ११ देखि १३ गतेसम्म लगानी सम्मेलन तय गरेको हो । लगानी सम्मेलनको मुख्य उद्देश्य प्रदेशमा लगानीको वातावरण सृजना गर्नु र यो प्रदेशमा औद्योगिक वातावरण बनेको सन्देश दिने रहेको छ ।

प्रदेश सरकारले चालु वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख गरेको थियो । निजी क्षेत्रको सहकार्य र समन्वयमा सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेशको लगानी प्राधिकरणले लगानी सम्मेलनको समन्वय र सहजीकरण गरेर लगानीका क्षेत्रहरुको तय गर्ने छ । यसका लागि प्रदेश सरकारले करिब तीन करोड बजेट विनियोजन गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

लगानी सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका लगानीकर्ताहरुलाई निम्त्यायिने बताइएको छ । प्रदेशका संभावित आयोजनाहरुकको पहिचान गरी ति क्षेत्रमा लगानी भित्रयाउन प्रदेश सरकारले संघ र स्थानीय सरकरको नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने र प्रदेश सरकारले गर्नुपर्ने कानूनको संशोधन तत्काल गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीका अनुसार पिपिपी मोडलको लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेशको विकासमा सक्दो सहभागी गराउने उद्देश्य प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गर्ने तयारी गरेको हो ।


क्लिकमान्डु