उद्धार, राहतमा खटिन कार्यकर्तालाई दलहरुको निर्देशन



काठमाडौं । अविरल वर्षाका कारण बाढी पहिरो र डुबानमा परेकालाई उद्धार, राहत वितरणमा खटिन दलहरुले पार्टीका नेता कार्यकर्तालाई परिचालिन गर्ने निर्णय गरेका छन् ।

सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी माओवादीसहितका दलले पीडितको उद्धार र राहतमा खटिन पार्टी पंक्तिलाई निर्देशन दिएको हो ।

आइतवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको केन्द्रिय सम्पादन समितिको बैठकले निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । ५० लाखमा सहयोग गर्न कांग्रेस सांसदहरुले १५ दिनको तलव उपलब्ध गराउने निर्णय गरेको छ ।

विपद्जन्य घटनाबाट बेपत्ता भएकाहरुको खोजि तिब्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ । पार्टीको भ्रातृ, शुभेच्छुक संघटन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले पनि नेता, कार्यकर्तालाई उद्धार तथा राहतमा परिचालित हुन निर्देशन दिएको छ । आइतबार बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।

‘धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली, मकवानपुर, चितवन लगायत बढी प्रावित जिल्लामामा अलपत्र परेका यात्रीहरूलाई स्थानीय कमिटीले खानापानीको व्यवस्थगा गरिरहनुभएको छ। यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेका छौं’, केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले भने, ‘विस्थापितलाई संरक्षित क्षेत्रमा स्थानान्तरण तथा पुर्नस्थापनाका लागि सहयोग गर्न, घाइतेको उद्धार गरी अस्पताल पुर्‍याउन खासरी सम्पर्क मञ्चलाई परिचलान गर्ने निर्णय भएको छ।’

अहिले अमेरिकामा रहेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले शनिबार त्यतैबाट विपद्को बेला हातेमालो गरेर उद्धारमा जुट्न तथा उद्धारका लागि खटिएका सरकारी संयन्त्रहरूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि पार्टीका सबै तह र निकायलाई उद्धार तथा राहतमा परिचालित हुन निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार नै यस्तो निर्देशन दिएका हुन् भने उनले आइतबार सर्वदलीय बैठक आह्वान गरेका थिए । तर सरकारले सर्वदलीय बैठक बोलाएपछि उनको कार्यक्रम स्थगित भएको थियो ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार नै जिल्लामा जोखिमपूर्ण अवस्थामा रहेको नागरिकको उद्धार कार्यमा सबै तहका सदस्य सक्रिय रहन निर्देशन दिएको छ । यस्तै, उद्धार कार्यमा संलग्न हुँदा आफ्नो सुरक्षालाई पनि ध्यान दिई, सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर आफूले जानेको र सक्ने तवरले उद्धार कार्यमा लाग्न, सबै जिल्लामा भइरहेको समन्वय र सहयोगको कार्यबारे स्थानीय प्रशासनलाई जानकारी गराउन निर्देशन दिएको छ ।


क्लिकमान्डु