रविलाई प्रहरीले पक्राउ गर्न सक्ने भन्दै चीन गएको स्वर्णिमसहितको टोली भ्रमण छोट्याएर फर्कियो



काठमाडौं । १० दिने चीन भ्रमणका लागि गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टोली स्वदेश फर्किएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तामा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको १४ जनाको टोली शनिबार राति चीन गएको थियो । तर, सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्न सक्ने भन्दै उनीहरु कार्यक्रम छोट्याएर फर्किएका हुन् ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेपछि सभापति लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरु फकिएका हुन् ।

बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उपसभापति वाग्लेले सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरेको बताए । तर बेइजिङ पुग्ने कार्यक्रम भने स्थगित गरेको उनले बताए ।

आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किने उनले बताए ।

आइतबार प्रहरीले सभापति लामिछानेलाई पक्राउ गर्न लागेको भन्दै रास्वपा कार्यकर्ता राति पार्टी कार्यालयमा भेला भएका थिए । कार्यकर्तालाई सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले चीन गएका नेताहरु फर्किन लागेको जनाएका थिए ।


क्लिकमान्डु