कीर्तिपुरमा विश्व पर्यटन दिवसबाट नि:शुल्क पदयात्रा



काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँ उपत्यकाको सांस्कृतिक नगरी कीर्तिपुरमा साप्ताहिक नि:शुल्क पदयात्रा हुने भएको छ । पदयात्रा सुरु यही असोज ११ गतेबाट आयोजना हुने भएको छ ।

कीर्तिपुर स्वयंसेवक समाजको आयोजना तथा स्थानीय संघ-संस्थाहरुसँगको सहकार्यमा यस सम्पदा पदयात्रा नियमित रुपमा हुने ब्यवस्था मिलाएको कीर्तिपुर स्वयंसेवक समाजले जानकारी दिएको छ ।लपदयात्राका सहभागीहरूले कीर्तिपुरको समृद्ध सम्पदा मार्गबाट यसको ऐतिहासिक सम्पदाको मार्गदर्शन गर्दै पदयात्रा गर्न सक्नेछन्।

बर्खाहिटी नयाँबजार, कीर्तिपुरबाट सुरुहुने पदयात्रा चिलञ्चो बिहार, ल्हो देग, देपुखु, बाघभैरब हुँदै पदयात्रीहरुले उमामहेश्वर मन्दिरसम्म करिब एक घण्टा पदयात्रा गरिनेछ। आगामी दिनहरुमा चोभार, पांगा, नगाँउ आदि स्थानहरुमा पनि पदयात्रा बिस्तार गरिनेछ ।

कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदी पदयात्राका लागि आवश्यक पर्ने म्याप अपडेट गर्ने, नयाँ जानकारी राख्ने कार्य पनि यी यात्राहरुको क्रममा गरिने बताए । स्थानीय गाइडहरुलाई आवश्यक तालिमहरुको संयोजन गरिने कीर्तिपुर गाइड एसोसियसनका उपाध्यक्ष विविशा शाक्यले बताइन ।

यो आन्तरिक तथा बाह्य पर्यटकलाई कीर्तिपुरको सम्पदा, इतिहास र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिका र स्थानीय संस्थाहरुको सहकार्यमा अभियान कै रुपमा अघि बढ्नु सुखद भएको सम्पदा पदयात्राको सहभागीलाई स्वागत गर्न कीर्तिपुर आतुर रहेको कीर्तिपुर नगरपालिकाको कार्यवाहक प्रमुख तथा उपमेयर शुभलक्ष्मी शाक्यको भनाई छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले कीर्तिपुरको स्थान पहाडी सहरको रुपमा रहेको छ जुन आफैँमा पर्यटन ब्रान्ड हो भन्दै यस स्थानबाट देखिने मनमोहक दृश्यहरूले कीर्तिपुरको विशेष महत्व राख्दछ र यस किसिमको पदयात्राले कीर्तिपुरलाई पर्यटन मानचित्रमा स्थापित गराउने बताए ।

अघिल्लो वर्ष कीर्तिपुर स्वयंसेवक समाजको आयोजनामा स्थानीय गाइडहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले तालिम दिइएको थियो। तालिममा कीर्तिपुरको कथा कथनको कलाका विषयमा ३० जना कीर्तिपुर गाइड संघका सदस्यहरू र अन्य सहभागीहरु रहेका थिए।

युवाहरुमा भएको ज्ञान सीप र क्षमताको माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न २०६१ मा स्थापना भएको कीर्तिपुर स्वयंसेवक समाजले युवा क्षमता विकास, विपद् व्यवस्थापन आदि क्षेत्रहरुमा निरन्तर काम गर्दै आइरहेको छ ।


क्लिकमान्डु