तिब्बतसँग सिमाना जोडिएको कोरला नाकामा सञ्चार सुविधा विस्तार



म्याग्दी । तिब्बतसँगको सिमाना जोडिएको कोरला नाकामा सञ्चार सुविधा विस्तार भएको छ ।

नेपाल टेलिकम बाग्लुङका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बीटीएस टावर स्थापना गरी सेवा विस्तार भएको हो ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सञ्चार सुविधा विस्तार भएसँगै स्थानीय बासिन्दासँगै व्यापारी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी, पर्यटक र कोरला नाका पुग्ने जो कोहीलाई सञ्चारमा सहज भएको बताए । एक वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गएको वैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको थियो ।

नाकामा गण्डकी प्रदेश सरकारको लगानीमा गएको साउनमा निर्माण भएका भवनमा अध्यागमन, भन्सार, सुरक्षा निकायको कार्यालय स्थापना गर्ने तयारी भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्दै आएका छन् ।


क्लिकमान्डु