चुलिँदै ब्यापारघाटाः आयात १.०८ प्रतिशत बढ्दा निर्यात ५.१२ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनामा वस्तु तथा सेवा आयात १.०८ प्रतिशतले बढेको छ भने निर्यात ५.१२ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार भदौ मसान्तसम्म नेपालको ब्यापारघाटा १.७८ प्रतिशतले बढेको हो ।

विभागकाअनुसार भदौ मसान्तसम्म २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

गत आवको सोही अवधिमा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँको आयात भएको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा १.०८ प्रतिशतले मात्रै धेरै हो ।

नेपालबाट हुने निर्यात भने निकै निरासाजनक रहेको छ । निर्यात बढ्नुको सट्टा घट्दै गएको छ ।

भदौ मसान्तसम्म २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । जुन गत आवको सोही अवधिमा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँको रहेको थियो । यो अवधिमा नेपालको निर्यात ५.१२ प्रतिशतले घटेको विभागले जनाएको छ ।

चालु आवको दुई महिनामा नेपालको ब्यापारघाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख रुपैयाँ व्यापारघाटा रहेको थियो ।

आयात बढ्नु र निर्यात घट्दा ब्यापारघाटा बढीरहेको छ । विभागका अनुसार भदौ मसान्तसम्म नेपालको वैदेशिक व्यापार २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ खर्ब ८६ अर्ब १९ करोड ६९ लाख रुपैयाँ थियो ।


क्लिकमान्डु