रवि-जीबी संलग्न सूर्यदर्शन सहकारीमा ठगीः सीआईबीको टोली पोखरा जाने



काठमाडौं । पोखरा उपमहानगरपालिका–५ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट बचतकर्ताको बचत अपचलनका विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप अनुसन्धान गर्ने भएको छ ।

उक्त सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी आइतबार पक्राउ परेका छन् । काठमाडौंमा पक्राउ परेका जोशीलाई सोही दिन विमानबाट पोखरा लगिएको थियो । सोमबार अदालत उपस्थित गराइएका जोशीमाथि सहकारी ठगीका विषयमा थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई ५ दिनको समय दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले जोशी, रवि लामिछानेसहित ४ जनालाई कारबाही सिफारिस गर्दै प्रतिवेदन सार्वजनि गरेको छ । प्रतिवेदन संसदमा हस्तान्तरण भएपछि सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै मातहतका निकायलाई निर्देशन दिएको थियो । गृहमन्त्री रमेश लेखकले निर्देशन दिएको दिन नै जोशी पक्राउ परेका हुन् ।

उनी पक्राउ परेसँगै उक्त सहकारीका विषयमा प्रहरीले थप छानबिन गर्न लागेको हो । यसअघि पनि एक पटक अनुसन्धान भइसकेको थियो ।

यसअघि त्यही सहकारीका विषयमा सीआईबीले समेत अनुसन्धान गरेको थियो । त्यो समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलेको नाम समेत उक्त सहकारी ठगीमा जोडिएको भन्दै तत्कालीन सीआईबी प्रमुखले लामिछानेको नाम हटाउन सहयोग गरेको समेत आरोप लागेको थियो । लामिछानेको नाममा प्रहरीमा पूरक जाहेरीसमेत परेको छ ।

संसदीय समितिको प्रतिवेदनपछि जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान थालेको हो ।

सीआईबीले सूर्यदर्शनको अनुसन्धान गरिरहेका अधिकृतहरुलाई सहयोग गर्ने गरि टिम पठाउने निर्णय गरेको सीआईबी स्रोतको भनाइ छ ।

उक्त सहकारीबाट अपचल भएको रकम गोर्खा मिडिया नेटवर्कमा गएको र त्यसका लागि अध्यक्ष समेत रहेका सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई, पक्राउ परेका जोशी (गोर्खा मिडियाका सञ्चालक) र गोर्खा मिडिया नेटवर्ककका प्रबन्ध निर्देशक तथा जिवी राईका व्यवसायीक साझेदार रवि लामिछानेको संलग्नता रहेको समितिले जनाएको छ ।।

राई, छवी र रविले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा सूर्य दर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको समितिको निष्कर्ष छ । त्यो रकम अपचलन भएको समितिले जनाएको छ ।

जोशी पक्राउ परेसँगै रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै रास्वपाका नेता कार्यकर्ता आइतबार राति पार्टी कार्यालयमा भेला भएका थिए भने सोमबार रास्वपा समर्थकले सोमबार पोखरामा प्रदर्शनसमेत गरेका थिए ।


क्लिकमान्डु