दुर्गा प्रसाईँ पक्राउ परेपछि उत्तेजित समर्थकले ३ वटा ट्रकमा आगो लगाए



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि उत्तेजित बनेका उनका समर्थकहरुले ट्रकमा आगजनी गरेका छन् । प्रसाईँका समर्थकहरुले झापामा यातायात बन्दको आह्वान गरे पनि प्रभावहीन भएको छ । तर उनीहरुले राति नै भारतीय ट्रकमा आगजनी गरेका छन् ।

प्रसाईँका समर्थकहरुको बन्द आह्वान भने प्रभावहीन भएको छ । सोमबार झापा लगायत जिल्लाहरुमा निर्वाध रुपमा सवारी साधन चलिरहेका छन् । प्रसाईँ पक्राउको विरोध गर्दै उनीहरुले ३ वटा भारतीय ट्रकमा आगजनी गरेका हुन् ।

प्रहरीका अनुसार यूपी –५७ एटी–४४९३ नम्बर, डब्लूबी–७३–ई–३०५७ नम्बरको खाली ट्रक र डब्लूबी–७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा उनीहरुले आगजनी गरेका हुन् । झापामा ६ वटा मोटरसाइकलमा आएका प्रसाईँका समर्थकहरुले ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

मेडिकल व्यवसायी प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । प्रसाईं पक्राउ परेपछि उनका समर्थकहरुले झापामा बन्द आह्वान गरेका हुन् । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका नाममा प्रसाईँले केही समययता नेताहरुको चरित्रहत्या गर्दे टिप्पणी गर्दैआएका छन् ।


क्लिकमान्डु