नेपालमा लाभा र बेन्कोको मोबाइल बेच्ने अम्बे मोबाइलको व्यापारमा गिरावट



काठमाडौं । नेपालमा लाभा र बेन्को ब्राण्डको मोबाइल फोन बेच्ने अम्बे मोबाइल प्रालिको व्यापारमा गिरावट आएको छ ।

सन् २०२० देखि सन् २०२४ सम्म निरन्तर व्यापारमा वृद्धि गरेको कम्पनीको सन् २०२४ को व्यापारमा भने कमी आएको हो । कम्पनीले सन् २०२४ मा १ अर्ब १९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।

यसअघिका वर्षहरुमा कम्पनीको व्यापार क्रमश: सन् २०२० मा ७३ करोड २० लाख, सन‍् २०२१ मा १ अर्ब ६ करोड ८० लाख, सन् २०२२ मा १ अर्ब ३४ करोड २० लाख र सन् २०२३ मा १ अर्ब ३४ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०२४ मा भने अघिल्लो वर्ष सन् २०२३ को तुलनामा कम्पनीको व्यापारमा १ करोड ५० लाखले कमि भएर १ अर्ब १९ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ ।

सन् २०१५ मा खुलेको अम्बे माेबाइल प्रालि काठमाडौंमा केन्द्रिय कार्यालय रहेको र देशैभर गरि ४६ वटा रिटेल स्टोर तथा सर्भिस सेन्टर रहेको छ ।

अम्बे माेबाइल अम्बे ग्रुपकै अंशका रुपमा रहेको छ, जुन कम्पनी नेपाली व्यवसायिक जगतमा रियल स्टेट, उत्पादन तथा ट्रेडिङमा लामो समयदेखि सक्रिय रहेको छ । अम्बे माेबाइलको स्वामित्व भने शोभाकर न्यौपानेसँग ८३ प्रतिशत र पुर्ण भद्र पौड्यालसँग १७ प्रतिशत रहेको छ ।

व्यापारमा गिरावट भोगेको कम्पनीले हाललाई ५८ करोड ३ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले अम्बे मोबाइललाई ५८ करोडको दीर्घकालिन कर्जा सुविधाका लागि ए फोर र ३ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ।


क्लिकमान्डु