जिबी राईलाई पक्राउ गर्न १० दिन मलेसिया बसेको थियो प्रहरी



काठमाडौं । गोरखा मिडियाका सञ्चालकसमेत रहेका सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीबाट करोडौं रकम अपचलन भएको प्रकरणमा मुख्य अभियुक्त गितेन्द्रबाबु राई (जिबी)लाई खोज्न नेपाल प्रहरी मलेसिया गएको खुलेको छ ।

सहकारी ठगी बारे छानबिन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा जनाइए अनुसार राईको खोजीमा नेपाल प्रहरीका अधिकारी १० दिन मलेसियामा रहेको भए पनि उनलाई फेला पार्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राईलाई पक्राउ गर्नका लागि गृह मन्त्रालयको स्वीकृतिपछि भदौ ७ गते एक जना प्रहरी उपरीक्षक र एक जना प्रहरी नायब निरीक्षक मलेसिया गएका थिए ।

उनीहरू १० दिन बसेर भदौ १७ गते मलेसियाबाट फिर्किएका थिए । मलेसियामा गई नेपाली दूतावासका डिसिएम मुदिता बज्राचार्यसँग र मलेसियन प्रहरीहरूसँगको अनौपचारिक भेटघाटबाट यस विषयमा उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने भनी बताइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मलेसियन प्रहरीसँग फोनमा सम्पर्क गरी जानकारी माग गर्दा मलेसियन प्रहरीले निजको विषयमा कूटनीतिक तहमा छलफल भइरहेकोले यस विषयमा केही डिस्क्लोज गर्न नमिल्ने बताएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘मलेसियामा गई नेपाली दूतावासका डिसिएम मुदिता बज्राचार्यसँग र मलेसियन प्रहरीहरूसँगको अनौपचारिक भेटघाटबाट यस विषयमा उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने भनी बताइएको, एनसिबी काठमाडौंबाट एनसिबी क्वालालम्पुरलाई बारम्बार इमेलमार्फत् प्रतिवादीसम्बन्धी थप जानकारीहरू माग गरिएकोमा कुनै जबाफ नआएपछि फोनमा सम्पर्क गरी जानकारी माग गर्दा मलेसियन प्रहरीले निजको विषयमा कूटनीतिक तहमा छलफल भइरहेकोले यस विषयमा केही डिस्क्लोज गर्न नमिल्ने बताएको,’ प्रतिवेदनमा उल्लेख छ।


क्लिकमान्डु