कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अवलोकनका क्रममा उनले कर प्रशासनमा उल्लेखनिय सुधारमा आफ्नो चासो रहेको बताए ।

सरकारले लिएको राजस्व उठाउने लक्ष्यका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्न आग्रह गरे । उनले आन्तरिक राजस्व रणनीति कार्यान्वयनका लागि जोड दिए ।

भर्खरै आन्तरिक राजस्व रणनीति परिचालन गरेको भन्दै अर्थमन्त्री पौडेलले यो रणनीति कार्यान्वयनको प्राथमिकतामा रहने बताए । रणनीति कार्यान्वयनमा जोड दिन उनले निर्देशन दिए ।

कोही पनि सरुवा, बढुवा वा अरु कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन पनि उनले आग्रह गरे ।

‘कोही पनि साथीहरु सरुवा, बढुवा अरु कुनै प्रयोजनका निम्ति मन्त्री कहाँ नआउनु होला,’ उनले भने, ‘मन्त्रीको एउटा मात्रै रुची र एउटा मात्रै चासो छ की, हाम्रो कर प्रशासनमा उल्लेखनिय सुधार होस् । र लक्ष्य पूरा होस् । त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोगका दिन हामी तयार छौँ । सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ । त्यस हिसावले अघि बढ्न आग्रह गर्दछु ।’

उपप्रधानमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताए । उनले लक्षित राजस्व लक्ष्य सम्पूर्ण रुपमा पूरा गर्न पनि निर्देशन दिए ।


क्लिकमान्डु