राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन (भिडियो)



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन् ।

काठमाडौंमा बिहीवार भन्सार विभागको कार्यक्रममा बोल्दै उनले राजस्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिए ।

राजस्व परिचालनमा कुनै पनि सम्झौता नहुने अर्थमन्त्रीको भनाइ छ। उनले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले राजस्व परिचालनका दृष्टिकोणले धेरै चुनौती रहेको बताए ।

उनले कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजस्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने बताए ।

‘हाम्रो अर्थतन्त्र अहिले दबाबमा छ । राजस्व परिचालनका दृष्टिकोणले हाम्रा सामुन्ने चुनौतीहरु छन् । यो दबाब व्यक्तिगत रुपमा पनि अत्यन्त गहिरो गरी अध्ययन गरेको छु,’ उनले भने, ‘हाम्रा सामुन्नेमा कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी छन् । यदी हामी राजस्व परिचालनमा प्रभावकारी हुन सकेनौँ भने हामीले कसरी अघि बढ्न सकौँला त्यो चिन्ता र दबाबमा म अहिले पनि छु।’

उपप्रधानमन्त्री पौडेलले सेवाग्राहीसँग सहृदयी र मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गरे । उनले सरुवा, बढुवाको प्रस्ताव लिएर आफू कहाँ नआउन आग्रह गरे ।


क्लिकमान्डु