आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा साढे १६ करोड ठगी, उपाध्यक्ष थापासहित १८ जना फरार



काठमाडौं । आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सन्चालकले बचतकर्ताको १६ करोड ५८ लाख २ हजार ३८५ रुपैयाँ ठगेको भन्दै पाइएको छ ।

यसअघि सरकारी वकिलको कार्यालयले साउन १३ गते १५ करोड ७७ लाख २ हजार ४० रुपैयाँ माग दाबी गर्दै अभियोग पत्र दायर गरेको थियो ।

थप २२ जना बचतकर्ताले ८१ लाख ७९५ रुपैयाँ माग दाबी गरेका छन् । थप ८१ लाख ७९५ रुपैयाँ सहित १६ करोड ५८ लाख २ हजार ३८५ रुपैयाँ माग दाबी गरेको हो ।

थप अभियोगमा मनोज कुमार थापामगर, कुयाङ छुयाङ दोर्जे लामा, प्रजुल कुमार गुरुङ, श्रवण कुमार राई, हस्त रावत, दिनेश अधिकारी, कुमार सिंह घिसिङ, राम प्रसाद श्रेष्ठ र महित कुमार तामाङ लगायतबाट उक्त रकम असुल गर्नु पर्ने उल्लेख छ ।

सहकारी ठगीमा १८ जना व्यक्ति फरार रहेका छन् । सहकारीका अध्यक्ष कृष्ण प्रसाद उप्रेती भने पक्राउ परेका छन् । यो विभिन्न ५ वटा सहकारी मर्ज भएर बनेको संस्था हो । मर्ज हुनुअघिका सबै सञ्चालक तथा पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

उक्त सहकारीका उपाध्यक्ष मनोज कुमार थापामगर फरार रहेका छन् ।

यस्तै तत्कालीन आईडियल यमुना बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा मर्ज भएर बनेको संस्थाका सचिव कुयाङ छुयाङ दोर्जे लामा, आईडियल यमुना बहुउद्देश्यीय सहकारी तथा आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष प्रजुल कुमार गुरुङ, आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य प्रकाशमान शाही खड्गी, तत्कालीन आईडियल यमुना सहकारीका उपाध्यक्ष श्रवण कुमार राई फरार रहेको प्रहरीले जनाएको छ ।

तत्कालीन नागरिक कल्याण बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा आईडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालक हस्त रावत, सदस्य गोपिनाथ घिमिरे, तत्कालीन घेदुङ बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष तथा आईडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी संस्था लेखा सुपरीवेक्षक समितिका संयोजक कुमार सिंह घिसिङ, लेखा समिति सदस्य बद्री महत, लेखा समिति सदस्य राम प्रसाद श्रेष्ठ, सदस्य महित कुमार तामाङ फरार रहेको प्रहरीको भनाइ छ ।

तत्कालिन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष शिब प्रसाद कट्टेल, तत्कालिन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य अरुण भन्डारी, तत्कालिन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य बिष्णु बहादुर रिमाल, तत्कालिन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका लेखा समिति संयोजक राजु पौडेल, तत्कालिन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका लेखा विभाग प्रमुख विश्वम्भर रिजाल, तत्कालिन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा विभाग प्रमुख दिनेश अधिकारी र तत्कालिन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष मुकुन्द प्रसाद पान्डे फरार रहेका छन् ।

सबैलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १ बिपरीत सोही दफाको उपदफा २ बमोजिमको कसुरमा सोही संहिताको दफा २४९ को उपदफा ३ को खण्ड ‘ग’ बमोजिम सजाय माग दाबी गरिएको छ । संहिताको दफा २४९ को उपदफा ३ को खण्ड ‘ग’ मा ७ वर्ष कैद र ७० हजार जरिवाना लाग्ने व्यवस्था रहेको छ ।


क्लिकमान्डु