सरकारी कर्मचारी पढेलेखेका गुण्डा हुन्, पैसा नलिइ कामै गर्दैनन्ः निर्माण व्यवसायी (भिडियो)



काठमाडौं । निर्माण व्यवसायीहरुले सरकारी कर्मचारी पढेलेखेका गुण्डा भएको आरोप लगाएका छन् ।

मंगलबार बागमती प्रदेश निर्माण व्यवसायी महासंघको दोस्रो अधिवेशनमा बोल्दै निर्माण व्यवसायीहरुले सरकारी कर्मचारी निलो पान्ट र सेतो सर्ट लगाउने पढेलेखेका गुण्डा भएको आरोप लगाएका हुन् ।

निर्माण व्यवसायीहरुको असली दुश्मन सरकारभन्दा पनि कर्मचारी भएको उनीहरुले आरोप लगाए ।

निजामति कर्मचारीहरुले अघिल्लो पुस्ताका निर्माण व्यवसायीहरुलाई पनि दुःख दिएको र अहिले पनि सुधार नभएको उनीहरुको भनाइ छ ।

कतिपय व्यवसायीहरुले भने निर्माण व्यवसायीहरुका भुक्तानी,म्याद थप,सार्वजनिक खरिद नियमवाली लगायतका विषयमा एकतावद्ध भएर लाग्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै निर्माण व्यवसायी निकोलश पाण्डेले निर्माण व्यवसायीहरुको असली दुश्मन भनेको नेपाल सरकारका निजामती कर्मचारी भएको आरोप लगाए ।

‘निर्माण व्यवसायीहरुको असली दुश्मन भनेको नेपाल सरकारका निजामति कर्मचारीहरु हुन्,’ उनले भने, ‘यीनीहरु भनेको निलो पाइट र सेतो सट लगाउने पढेलेखेका गुण्डा हुन् । यिनीहरुले हाम्रो बुबाहरुलाई पनि दुःख दिए । आजको दिनसम्म पनि दुःख दिइरहेका छन् ।’

सरकारी कर्मचारीहरुले विगतमा र आजको दिनसम्म पनि दुःख दिइरहेको भन्दै सुधारको लागि निर्माण व्यवसायीहरु एक जुट हुन आवश्यक रहेको औंल्याए ।

निर्माण व्यवसायीहरुले आयोजनाहरुमा ठेक्का हाल्न,ठेक्का परेपछि ठेक्का हस्ताक्षर गर्दा, हस्ताक्षर भएपछि काम सुरु गर्दा, विल बनाउँदा र आयोजनाहरुको म्याद थप गर्न समेत पैसा घुस दिनुपर्ने अवस्था रहेको उनले आरोप लगाए ।

यसरी कर्मचारीहरुले निर्माण व्यवसायीहरुलाई घरखेतविहीन बनाएकाले निर्माण व्यवसायीहरु पनि पलायन भइरहेको उनले बताए ।

‘निर्माण व्यवसायीहरुले आयोजनाहरुमा ठेक्का हाल्न पैसा दिनुपर्छ । ठेक्का परेपछि ठेक्का हस्ताक्षर गर्न पैसा दिनुपर्छ । हस्ताक्षर भएपछि काम सुरु गर्दा पैसा दिनुपर्छ । बिल बनाउन समेत पैसा दिनुपर्छ । आयोजनाहरुको म्याद थप गर्न समेत पैसा लिन्छन् । यसरी कर्मचारीहरुले निर्माण व्यवसायीहरुलाई घर खेती विहीन बनाएको छ,’ उनले भने, ‘पछिल्लो समय साना र सम्झौता मात्रै होइन ठूला निर्माण व्यवसायीहरु पनि पलायन भइसकेका छैन । कालिका तहका निर्माण व्यवसायी पनि पलायन भएका छन् । उहाँहरुसँग कसरी जुध्ने हो । निर्माण व्यवसायीहरुले त्यो कुरा सोच्नुपर्छ जस्तो लाग्छ ।’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुमा समस्या समाधान गर्नको लागि राजनीतिक पहुँच र आस्थालाई शक्तिको रुपमा एकिकृत भएर पूर्वाधारमैत्री ऐन कानून एकजुट हुनु पर्ने आवश्यकता रहेको बताए ।

नेपालको पहिलो पटक नेपाल राष्ट्र बैंकले छुट्टै बुँदामा राखेर मौद्रिक नीति ल्याए तर पनि कार्यान्वयन नभएको गुनासो आइरहेकाले सहजीकरणको लागि महासंघ लागि रहेको बताए ।

निर्माण व्यवसायी महासंघको पहलमा बैंकिङ कुसरका सम्बन्धमा सतप्रतिशत जरिवानालाई ५ प्रतिशतमा ल्याउन सफल भएको बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष एडि लामाले राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएको व्यवस्था कार्यान्वयनमा समस्या भएको बताए ।उनले बैंकको कार्यविधिमा मौद्रिक नीति जारी भएको मितिबाट मंसिरसम्म मात्रै भनिएको भन्दै त्यसले चेक अनादरका विषयमा व्यवसायीहरुको समस्या समाधान नहुने बताए ।

सरकारले निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी नदिएको वर्षौं भएको भन्दै सरकारले व्यवसायीहरुको आँखा चल्ने गरी नीति ल्याएको बताए ।

व्यवसायीहरुका समस्या समाधानको लागि व्यवसायीहरु एक हुन जरुरी रहेको बताए।

महासंघका महासचिव रोशन दाहालले अहिले इतिहासकै गम्भीर मोडमा निर्माण व्यवसाय पुगेको बताए । निर्माण व्यवसायीसँग सम्बन्धित अहिले भएका नियमावली र ऐनहरुलाई राज्यका निकायहरुबाट खोजेर व्यवसायी माथि प्रहार भइरहेको बताए ।


क्लिकमान्डु