सिचेकका लागि इटली गएको वाइडबडी दुई दिनभित्रै ल्याउने निगमको दाबी



काठमाडौं । इन्जिनबाहेकको सबै जाँच सिचेकका लागि इटली गएको नेपाल वायुसेवा निगमको एक वाइडबडी जहाज साढे २ महिनादेखि उतै अलपत्र छ ।

निगमले २२ जुन (असार ८ )मा इटलीमा मर्मतका लागि पठाएको जहाज एक महिनाभित्रै फर्कनुपर्ने भए पनि साढे २ महिनादेखि निगमको जहाज फर्किएको छैन ।

निगमको एउटा जहाज सिचेकका लागि गएर उतै बसिरहेको बेला अर्को वाइडबडी पनि मर्मतकै लागि गएको हुँदा हाल निगम वाइडबडी उडानविहीन छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा भएका ४ वटा जहाजमध्ये हाल २ वटा न्यारोबडी मात्रै उडानमा छ ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेल ८ असारमा मर्मतमा गएको वाइडबडी जहाज दुईदिनभित्रै आउने दाबी गर्छन् । जहाज निर्माण कम्पनीले दुई दिन अगाडि नै दिन्छु भने पनि प्राविधिक कारण दुई दिन पछाडि धकेलिएको उनको भनाइ छ ।

‘निगमको जहाज एकैपटक मर्मतमा पुगेको र जहाज नआउँदा उडान व्यवस्थापन मिलाउन समस्या भएको हो,’ पौडेलले क्लिकमान्डुसँग भने, ‘अब दुई दिनभित्रै जहाज आउने तयारी भएको छ । त्यसपछि नियमित उडान सुरु गर्दै जान्छ ।’

हाल निगमसँग भएका दुईवटा वाइडबडी दुबै मर्मतमा रहेकोले निगमको उडान तालिका प्रभावित भएको छ । लामो दूरीमा जाने उडान ठप्प भएको छ भने न्यारोबडीले गर्ने गन्तव्यमा सीमित उडान गरेर निगम बसिरहेको छ ।

निगमको सिचेकमा गएको (एन एएलवाई कलसाइनको ए३३) वाइडबडी समयमा नै नआउनुको कारण जहाजको प्राविधिक परीक्षण गर्ने क्रममा सेड्युल टाक्ससहित मेन ल्याण्डिङ गेयर साइड स्टे फिटिङ डिफेक्ट, रोलर डिफेक्ट, फ्युल ट्यांक लिकेजसहितको समस्या आएकोले यसको मर्मत गर्दा निगमले निर्धारण गरेको भन्दा बढी समय लागेको हुँदा वाइडबडी आउँन समय लागेको दाबी निगमले गरेको छ ।

निगमका अनुसार केही दिनभित्रै एएन एएलवाई नामको वाइडबी आइपुग्ने र त्यसले उडान गर्न थालेपछि गुमेको शाखः फिर्ताल्याउने काम गर्ने पनि निगमको दाबी छ ।


क्लिकमान्डु